मकवानपुरमा नयाँ भाडा निर्धारण गरिँदै, पूर्वीक्षेत्रको भाडा तोकियो
हेटौंडा- मकवानपुरका १० वटै स्थानीय तहअन्तर्गत्का मार्गहरुमा सञ्चालन हुने सवारी साधनहरुको लागि अस्थायी बाटो तथा भाडा निर्धारण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा नयाँ भाडा निर्धारण गर्ने निर्णय भएको हो । जनअनुसार पूर्वी क्षेत्रअन्तर्गत् मदन भण्डारी लोकमार्गको हेटौंडा–फारबारी–बागमती पुलसम्मको यात्रुबाहक सवारीको भाडा समायोजन गरिएको छ । बैठकले हाल पूर्वी क्षेत्रको मात्रै भाडा निर्धाण गरेपनि जिल्लाभर भाडा निर्धारणका लागि सिफारिस गर्न समिति निर्माण गरेको छ । पूर्वी क्षेत्र चल्ने बसहरुले यात्रुहरुलाई ठगी गरिरहेको गुनासो धेरै आएपछि प्रजिअ पाण्डेले नयाँ भाडा कायम गरेका छन् ।
हेटौंडाबाट फापरबारीको पाचपाण्डव (बागमती नदीको पुल)सम्मको भाडा प्रतिकिलोमिटर ३ रुपैयाँ ७२ पैसा कायम गरिएको जनाइएको छ । बैठकले उक्त भाडादर सोमबारबाट लागु गर्न निर्देशन दिइसकेको छ । नयाँ भाडादर अनुसार अब हेटौंडाबाट २५ किलोमिटरको दुरीमा रहेको छतिवनसम्म ९३ रुपैँया, हेटौंडाबाट ३१ किलोमिटरको दुरीमा रहेको हात्तिसुँडेसम्म १ सय १५ रुपैयाँ तथा ४७ किलोमिटर दुरीमा रहेको फापरबारीको १ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बसहरुले आफू खुशी भाडा लिँदै आएका थिए ।
बैठकले जिल्ला भित्रका विभिन्न मार्गहरुमा सञ्चालन हुने सवारी साधनहरुको लागि अस्थायी बाटो तथा भाडा निर्धारण सिफारिसको लागि समिति गठन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, हेटौंडाका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख हरिहर पोख्रेलको संयोजकत्वमा ६ सदस्यिय समिति समेत गठन गरेको हो । समितिले एक अध्ययनपछि भाडाको सम्बन्धमा सिफारिस गरेपछि जिल्लामा नयाँ भाडा दर कायम हुनेछ ।
नारायणी यातयात व्यवसायी प्रालिका सञ्चालक विश्व राईले पहिले कच्ची रुट रहेको स्थानमा केही समयबाट मात्र पक्की सडक सञ्चालनमा आएको कारण भाडा समायोजन हुन नसकेको जानकारी दिए । उनले आइतबारबाट समायोजनमा आएको भाडादर लागु गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।







