सन्तानेश्वर महादेवको मुर्ति प्रतिस्थापन
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–१ बुलबुले फुलबारीमा सन्तानेश्वर महादेवको मन्दिर उद्घाटनसँगै महादेवको मुर्ति प्रतिस्थापन गरिएको छ । बागमती प्रदेश सरकारका संस्कृति पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले मन्दिरको उद्घाटन गरेका हुन् । श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकका लागि यी शक्तिपिठ तथा मन्दिरहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्थानीय स्तरमा पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेकोले थप विकास गर्दै मन्दिरको प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।आगामी बजेटमा पर्यटनको सम्भावना बोकेका क्षेत्रहरुमा बजेट विनियोजन गरिने समेत मन्त्री श्रेष्ठले बताएका छन् । स्थानीय तह बनेपछि विभिन्न चरणबद्ध रुपमा बजेट निकासा गर्दै १० लाख लगानीमा मन्दिर र वरिपरिका क्षेत्रहरुको निर्माण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष आइतसिं लोले बताए ।
झण्डै पाँच वर्षमा उक्त मन्दिरको निर्माण गरिएको हो । निर्माण सम्पन्न भएसँगै भक्तजनका लागि पूजाआजाका लागि मन्दिर खुला गरिएको छ । भवन उद्घाटन समिति संयोजक प्रल्हाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सुवात सिं थिङ, महासमिति तथा वडा नम्बर ७ का अध्यक्ष सुर्यबहादुर रुम्बा, वडा नम्बर १ का अध्यक्ष आइतसिं लो, नेपाली कांग्रेस गाउँपालिका सभापति राजवीर मुक्तान, कोषाध्यक्ष आकाश गोले, कार्यपालिका सदस्य फुलमाया टुप्पा, वडा सदस्य लालबहादुर लामा, सुन्तली विक, सोमलाल भ्लोन, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रोशन लामा लोलगायतको उपस्थिति थियो ।







