हेटौंडामा निर्वाध अटो चलाउन पाउनुपर्ने माग राखेर आन्दोलन

साझाकुरा
२०७९ भाद्र २, बिहीबार ११:१७

हेटौंडा- हेटौंडामा रुट परमिट लिएकाहरुलाई मात्र चलाउने अनुमति दिने उपमहानगरपालिका कार्यालयको कार्यविरुद्ध अटो चालकहरु आन्दोलित भएका छन् । बजारको साँघुरा सडकको क्षमता भन्दा बढी अटो सञ्चालन भएपछि उपमहानगरपालिकाले १९ साउनदेखि नगरभित्र सञ्चालन अनुमति लिएका अटोहरुलाई हरियो स्टिकर टाँस गर्न सुरु गरेको थियो । त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय एक हप्ताको समय दिएर नगरभित्र सञ्चालन गर्ने अनुमति लिएका अटोहरुलाई हरियो स्टिकर टाँस गरेको थियो । हरियो स्टिकर टाँस नगरेका अटोहरुलाई कारबाही सुरु भएपछि सञ्चालन अनुमति नै नलिएका अटोहरु उपमहानगरपालिका कार्यालयविरुद्ध आन्दोलन गर्न सुरु गरेका छन् ।

उपमहानगरपालिकाले २०७६ पुसको ७ गते हेटौंडा क्षेत्रमा थप तीन पांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरिएको थियो । तर, बाहिरी जिल्लाको रुट परमिटले हेटौंडामा अटो र मयुरी निर्वाध सञ्चालन भइरहेका थिए । २०७६ पछि हेटौंडाभित्र सञ्चालन अनुमति नपाएका अटोहरुले मकवानपुर जिल्लाभर सञ्चालन गर्ने गरी रुट परमिट लिएका थिए ।तर, उपमहानगरपालिकाले २० साउनदेखि नगरभित्र सञ्चालन अनुमति पाएका अटोलाई मात्र चल्न दिने निर्णय गरेर स्टिकर टाँस गर्न थालेको थियो । उक्त निर्णयका विरुद्ध अटो व्यवसायीहरु उपमहानगरपालिका कार्यालयमा धर्ना बसेका छन् ।

नगरभित्र सञ्चालन अनुमति नलिएका अटो चालकहरुले रुट परमिट माग गर्दै आन्दोलन सुरु गरेका हुन् । बुधबार उपमहानगरपालिका कार्यालय अगाडि अटोको लाइन लगाएर चालकहरु रुट परमिट माग गर्दै नाराबाजी गरेका थिए । मकवानपुर जिल्लाभर चलाउन पाउने अनुमति भएपनि हेटौंडामा चलाउन नपाएको भन्दै अटो व्यवसायीहरुले रोजीरोटीमै समस्या भएको गुनासो गरेका छन् । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयले २०७६ पुस अगाडि नै जिल्लाभर चलाउन पाउने अनुमति भएका अटोलाई सञ्चालनमा कुनै रोकतोक नलगाएको जनाइएको छ । तर, हेटौंडा उपमहानगरले २०७६ पुसपछि परमिट नदिने निर्णय गरेपछि भित्रिएका अटोहरुलाई भने सञ्चालनमा रोक लगाइएको हो । ट्राफिक प्रहरीले स्टिकर नटाँसेका अटो तथा मयुरीलाई भटाभट कारबाही सुरु गरेको छ । प्रहरीले कारबाही सुरु गरेपछि अटो व्यवसायीहरु नगरभित्रै अटो चलाउन पाउनुपर्ने माग राखेर आन्दोलित भएका हुन् । अटो व्यवसायी नवराज ढुंगनाले समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । सबै कागजत पत्र भएकालाई सञ्चालन अनुमति दिनुपर्ने उनको भनाई छ ।
अत्याधिक अटो–मयुरीका कारण हेटौंडाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । नगरभित्रका सबै सडकमा अटो र मयुरी बग्रेल्ती भेटिन्छन् । ट्राफिक नियम पालना गर्न अटेर गर्ने गरेको धेरै गुनासो अटो र मयुरीमाथि छ । असंख्य अटो–मयुरी नियन्त्रण गर्न उपमहानगरले स्टिकर भएकालाई मात्र चलाउन दिने नीति लिएको थियो । हेटौंडाको बीच बजारबाट दुईवटा राष्ट्रिय राजमार्ग पर्नेे भएकाले वर्षौदेखि साँघुरा सडक समस्या बन्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*