स्थानीय निर्वाचनको उम्मेदवारहरुलाई आयोगले सोध्यो स्पष्टिकरण
हेटौंडा-मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।आयोगले निर्वाचनमा लागेको खर्चको बिल भरपाइसहित आयोगमा नबुझाएको भन्दै निर्वाचित जनप्रतिनिधि र पारजित भएका उम्मेदवारहरुलाईसमेत स्पष्टिकरण सोधेको हो । इन्द्रसरोवर गाउँपालिकाका ७१ जना उम्मेदवार र बिलम्ब गरी बुझाउने १८ जना उम्मेदवारहरुलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । आयोगले उनीहरुलाई तोकिएको समयभित्र के कति कारणले खर्च विवरण बुझाउन नसकिएको हो भनी स्पष्टिकरण सोधेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम मतपरिणाम प्रकाशित भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण दल वा उम्मेदवारले मतपरिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने, स्थानीय तह निर्वाचन नियमावली, २०७३ नियम ४० बमोजिम उमेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको ढाँचामा मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।
कानुनअनुसार खर्च विवरण नबुझाउने उम्मेदवारहरुको स्थानीय तह अनुसार निर्वाचन आयोगले १ भाद्रमा नामावली वेभसाइटमा प्रकाशन गरेको छ । खर्च विवरण नबुझाउनेहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (४) बमोजिम सफाइसहित ७ स्पष्टिकरण ७ दिनभित्र निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न सार्वजनिक सूचना गरिएको छ । सूचना अनुसार पालिकाका सबै उम्मेदवारले भाद्र ७ गतेभित्र जिल्ला निर्वाचन कार्यालय मकवानपुर वा प्रदेश निर्वाचन कार्यालय हेटौंडामा गई लिखित स्पष्टिकरण दिनुपर्नेछ ।







