सफा हेटौंडा अभियान अन्तर्गत बसपार्कमा सरसफाई
हेटौंडा- सामुदायिक प्रहरी सेवा उपकेन्द्र र होटल एशोसियसन मकवानपुरले हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा सरसफाई गरेको छ । सामुदायिक प्रहरी सेवा उपकेन्द्र र होटल एशोसियसन मकवानपुरले शनिबार सफा हेटौंडा अभियान अन्तर्गत हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा सरसफाई गरेको हो । नेपालको पूर्वपश्चिमलाई जोड्ने बसपार्क क्षेत्र अत्याधिक फोहोर, धुलो, हिलो भएको र सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले सरसफाइ गरिएको उपकेन्द्रका अध्यक्ष प्रदिप कँडेलले जानकारी दिए ।
उनले बसपार्क क्षेत्रमा यात्रुहरुलाई चिया नास्ताको अनुमति दिईएको पसलहरुमा मदिराजन्य पदार्थ बढी बिक्री वितरण भइरहेको पाइएकोले व्यवसायीहरुलाई सचेत समेत गराईएको बताए । यस्तै बसपार्क क्षेत्रमा होटल, पसलबाट निस्कने फोहोर जथाभावी नफाल्न आग्रह गरिएको उनको भनाइ छ । सरसफाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यवसायीहरुको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले एक महिनाअघि सुरु गरेको सफा हेटौंडा अभियान बृहत बन्दै गएको छ । उपमहानगरको विभिन्न क्षेत्रमा नागरिकहरु आफै सचेत भएर सरसफाई गर्न थालेका छन् ।







