भड्किलो तरिकाले तीज नमनाऔंः अध्यक्ष न्यौपाने

साझाकुरा
२०७९ भाद्र ५, आईतवार ०९:१७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरका प्रवक्ता सविन न्यौपानेले साँस्कृतिक पर्व तीजलाई भड्किलो र खर्चिलो तरिकाले मनाउन नहुने बताएका छन् ।हेटौंडा–१ मैनटारमा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले नेपाली समाजमा महिलाहरुले मनाउने महत्वपूर्ण साँस्कृतिक पर्व तीजलाई साथीसंगी, माइती भेटघाट र दुःखसुख साट्ने पर्वमै सीमित राख्नुपर्ने धारणा राखेका हुन् । ‘महिनौं अघिदेखि दरखाने नाममा फजुल खर्च गर्ने र अनावश्यक गहना प्रदर्शन गर्ने भड्किलो नभई धार्मिक आस्थालाई पूरा गर्दै सामाजिक सद्भाव कायम गर्ने पर्वको रुपमा मनाउनुपर्छ’, अध्यक्ष न्यौपानेले हुनेले धेरै खाएर धेरै लगाएर तडकभडक गर्दा नहुनेको मनमा चोट पार्ने काम गर्न नहुने धारणा राखे ।

नेपाली हिन्दू महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमयरुपमा नाचगान, मनोरञ्जन गरेर मनाइने यो पर्वमा क्यासेट बनाएर नाच्नुभन्दा परम्परागत मादल बजाएर पाउजुको तालमा छमछम नाचेर मनाउँदा नेपाली असली सँस्कृति झल्किने उनको धारणा थियो । स्थानीय अग्रज महिला नरमाया गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा उनले गाउँको विकास निर्माणमा महिला सहभागिता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । उनले चौकीटोल–लालझाडी जोड्ने झोलुड्डेपुल निर्माण गर्न तीजको बेलामा भएको महिला आन्दोलन महत्वपूर्ण रहेको स्मरण गरे । उनले चौकीटोल–लालझाडी जोड्ने पक्की पुल निर्माण गर्न बजेट विनियोजन भइसकेको अवस्थामा निर्माण ढिलाई भएको विषय कोट्याउँदै फेरि पनि पक्की पुलको लागि आन्दोलन गर्न परेपनि तयारी अवस्थामा रहन अनुरोध गरे ।

कार्यक्रममा वडा सदस्य रामकृष्ण अधिकारीले विवाहिता महिलाहरुले परिवार र अविवाहितले सुयोग्य वर माग्दै व्रत गर्ने पर्वको रुपमा तीज रहेकोले तडकभडकविना पर्व मनाउन सुझाव दिए । पूर्व वडा सदस्य तथा बाराही आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमलाल स्याङ्तानले अब लालझाडी–चौकीटोल पक्की पुल बन्न धेरै ढिलाई भए आन्दोलनमा उत्रिएर जस्तोसुकै कदम चाल्न आफू सदैव तयार रहेको बताए ।स्थानीय समाजसेवी बैकुण्ठ पराजुलीले सञ्चालन गरेको कार्यक्रममा गोकर्णेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष निरमाया घिसिङ, गायिका पम्फा थापा, कार्यक्रम संयोजक सुनिता पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*