मानवसेवाले सप्ताहव्यापी कार्यक्रमसँगै कन्सर्ट गर्ने
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधापस्थित मानवसेवा आश्रमले स्थापना दिवसको अबसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रम स्थापनाको १० वर्ष पूरा भएको अबसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने जानकारी दिए । उनले सप्ताहव्यापी कायर्यक्रमअन्तर्गत् ७ मंसिर आज मंगलबार हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने भएको छ । ८ गते आश्रम परिषरमा वृक्षारोपण, ९ गते आश्रम रहेको धापटोलमा सरसफाई तथा तीज विशेष कार्याक्रम, १० गते सडक आश्रित मानवहरुको उद्दार कार्यक्रम, ११ गते मुठ्ठिदान संकलन कार्यक्रम, १२ गते दीप प्रज्वलन र भजन सन्ध्या तथा स्थापना दिवसको दिन वार्षिकोत्सव कार्यक्रम रहेको अधिकारीले बताए ।
करिब एक दशक अघि १३ भदौ २०६९ मा हेटौंडाको अब्बलडाँडाबाट आश्रम सुरु गरिएको थियो । हाल देशको १९ जिल्लामा आश्रम विस्तार भइसकेको छ । २३ वटा शाखामा १६ सय बढी आश्रित छन् । घरवार विहीन, शारिरीक रुपमा अशक्त बुढापाकालाई आश्रय दिँदै आएको मानव सेवा आश्रमले कन्सर्ट गरिने भएको छ । चर्चित नेपथ्य ब्याण्डको कन्सर्ट हुने भएको हो । कन्सर्टमा नेपथ्यका अमृत गुरुङपनि सहभागी हुने छन् । हेटौंडा–९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमले आफ्नो आश्रमको विभिन्न जिल्लामा निर्माणधीन शाखा भवनको लागि अक्षय कोष स्थापनाको लागि देशको प्रमुख शहरहरुमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङलाई लिएर ‘मानवताको लागि संगीत’ कार्यक्रमहरु गर्ने कार्यक्रमअन्तर्गत हेटौंडामा पनि कन्सर्ट गर्न लागिएको जनाइएको छ ।
आश्रमले हेटौंडा–४, स्थित भुटनदेवी विद्यालयको मैदानमा २२ मंसिरमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । १६ मंसिरबाट १६ पुससम्म एक महिना देशको १० प्रमुख शहरहरुमा ‘मानवताको लागि संगीत’ कार्यक्रमको तयारी सुरु भएको अधिकारीले जानकारी दिए । १६ मंसिरमा
विराटनगर, १९ गते बिरगञ्ज, २२ गते हेटौंडा, २५ गते नारायणगढ र २९ मंसिरमा नेपालगञ्जमा कन्सर्ट गरिने उनले बताए । ३ पुसमा धनगढी, ६ गते सुर्खेत, ९ गते बुटबल, १२ गते पोखरा र १६ पुसमा काठमाडौंमा कन्सर्ट हुने आश्रमले जनाएको छ ।







