मकवानपुरे कवि बिर्खेलाई ‘युवा वर्ष मोती पुरस्कार’
हेटौं- मकवानपुरका युवा कवि बिर्खे अञ्जान (लक्ष्मण बर्तौला)लाई प्रतिष्ठित ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान गरिने भएको छ ।जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरमा साहित्यको विकास तथा सिर्जनामा क्रियाशिल रहेका बिर्खे अञ्जानले वर्ष २०७९ सालको नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएबापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ समर्पित गर्न लागिएको युवा सेवा कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ ।
उक्त पुरस्कार भदौ ११ गते मोतीजयन्तीको अवसर पारेर लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिने युवा सेवा कोषका सदस्य सचिव डा. विष्णुबहादुर भण्डारीले बताए । अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना (कविता संग्रह २०७२) शल्यक्रिया (समालोचना संग्रह २०७२) कठघरामा देश (मुक्तक संग्रह २०७९), मकवानपुरका काव्यः अवलोकन र अध्ययन (समालोचना संग्रह २०७९) एकल कृति प्रकाशित छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सबल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुन् ।







