कार्यकक्षमै वडाध्यक्षमाथी कुटपिट
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नविन सिग्देलमाथी कार्यकक्षमा नै कुटपीट भएको छ । नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथी एमालेको जिल्ला सदस्य सानु लामा दोङले कुटपीट गरेका हुन् । पिटाई खाएका वडाध्यक्ष सिग्देल आफूमाथी गलत भएको प्रतिक्रिया दिए । साझाकुरासँग खुलेर बोल्न नचाहेका सिग्देलले भने ‘म माथी जे भयो गलत भयो । यति भन्छु, अरु धेरै कुरा गर्दिन’ । आफ्नैै पार्टीको जिल्ला सचिव रहेका सिग्देललाई लामाले किन हातपात गरे भन्ने बारे अझै खुलेको छैन ।
कुटाई खाएका वडाध्यक्ष सिग्देलले लामाविरुद्व जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइसकेका छन् । सिग्देलले आफूमाथी हातपात भएको भन्दै कारवाहीको लागि माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । उनले सिग्देलको उजुरी परेलगत्तै हातपात गर्ने लामाको घरमा प्रहरीले छापा मारेको बताए । तर, लामा फरार रहेको प्रहरी प्रवक्ता कार्कीको भनाइ छ । ‘उहाँहरुको पार्टीगत कुरा रहेछ । आफूमाथी हातपात भएकोले कारवाहीको माग गरेर वडाध्यक्षले उजुरी दिनुभएको छ । कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौ’, कार्कीले भने ।







