नारायणी यातायातको अत्याचारः बेहोस यात्रुलाई बाटोमै छोडेर टाप
हेटौंडा- हेटौंडास्थित यातायात क्षेत्रको एक जिम्मेवार निकायबाट सञ्चालित एउटा टाटासुमोले काठमाडौं जाने यात्रुमाथि चरम लापरबाही गरेको पाइएको छ । नेपालकै ठूलो यातायात संस्था भनेर यसअघि प्रचार गरिँदै आएको पुरानो नारायणी यातायात कम्पनी प्रालि (तत्कालीन नारायणी यातायात व्यवसायी संघ)को टाटासुमोले बेहोस अवस्थामा रहेकी एक महिला यात्रुमाथि अत्याचार गरेको पाइएको हो । यात्रु टिकटमा प्रष्ट गाडि नम्बरसमेत नेलेखिएको टाटासुमोले रामेछाप मन्थली घर भएका निता तामाङलाई भीमफेदीमा छोडेर हिँडेको छ । अन्दाजी १८–२० वर्षकी तामाङ काठमाडौं जान नारायणी यातायातको टाटासुमो चढेकी थिइन् । उनी भीमफेदी पुग्नु अगावै टाटासुमोभित्र बेहोस भइन् ।
यात्रु बेहोस भएपछि सुमोका चालकले भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तामाङलाई छोडेर सम्बन्धित निकायमा खबर नै नगरी हिँडेका हुन् । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सुमोका चालकले तामाङलाई स्वास्थ्य केन्द्रमा ल्याएर प्रहरीलाई नै खबर नगरी काठमाडौं गएको खुलेको जनाएको छ । गन्तव्यमा हिँडेको यात्रु बीचबाटोमै बेहोस भएपछि चालकले प्रहरी वा सम्बन्धित बिरामीको परिवारमा खबर गर्नुपर्ने मानवीयता पनि नदेखाएको पाइएको छ । यात्रु तामाङको होस खुलेपछि स्वास्थ्य केन्द्रले नजिकैको इप्रका भीमफेदीलाई जानकारी गराएका थियो ।
तामाङलाई हेटौंडाको पदमपोखरी रहेका आफन्तले आएर लगेको इप्रका भीमफेदीकी इञ्चार्ज प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् । उनले सुमो चालकले बिरामीको बारेमा कुनै जानकारीसमेत नदिएको र यात्रुलाई स्वास्थ्य केन्द्रमा राखिदिएर गैरजिम्मेवार ढंगले हिँडेको जानकारी दिइन् । तामाङको टिकट उनको साथीले काटिदिएको कारण टिकटमा नामसमेत उल्लेख छैन । नारायणी यातायातको काउन्टरले टिकट काट्दा सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । टिकटमा गाडि नम्बर प्रष्टसँग उल्लेख
पीडित तामाङसँग सुमोले ७ सय रुपैयाँ लिएको खुलेको छ । प्रहरीले टाटासुमो र त्यसका चालकलाई खोजी गरेपनि हालसम्म भेटाएको छैन । इप्रका भीमफेदीकी इन्स्पेक्टर कार्कीले टाटासुमोको नम्बर नखुलेका कारण पत्ता लगाउन कठिन भएको बताइन् । उनका अनुसार प्रहरीले अनुसन्धान गरिरहेको बताइन् । प्रमाण नै नभेटिएको घटनाको अनुसन्धानमासमेत सफल हुँदै आएको प्रहरीले एउटा टाटासुमो खोज्न नसकेको जवाफ पाएपछि पीडितको आफन्त आश्चर्यमा परेको भीमफेदीका एक स्थानीयले जानकारी दिएका छन् ।
नारायणी यातायात कम्पनीको मात्र नभई हेटौंडाबाट सञ्चालित अधिकांश टाटासुमो र तीनका चालकले लापरबाही गर्ने गरेको घटना आइरहन्छ । तर, हदैसम्मको लापरबाही भइरहेको देख्दासमेत सम्बन्धित निकायले कुनै कारबाही अगाडि बढाउँदैन । चालकले यात्रुलाई बेहोस अवस्थामा बीचमै छोडेर हिँड्नुको पछाडि काठमाडौंबाट तत्काल हेटौंडा आउने अर्को टिप लगाउनु रहेको आशंका छ । ढिला भएमा हेटौंडा फर्किने यात्रु नपाइने भएकाले चालकले हतारहतार गर्ने गरेको गुनासो छ । मंगलबारपनि हेटौंडा फर्किने टिप लगाएर थप भत्ता लिने लोभमा चालकले यात्रुलाई बीच बाटोमै छोडेर हिँडेको आशंका गरिएको छ ।







