निर्माण नसकिँदा यात्रुलाई सास्ती

भैंसे–कुलेखानी–दक्षिणकाली–फर्पिङ सडक
साझाकुरा
२०७९ भाद्र १०, शुक्रबार ०९:२४

हेटौंडा- यसवर्षका चाडपर्वहरु धमाधम सुरु हुन थालेका छन् । हरितालिका तीज सुरु भइसक्यो । आगामी महिना असोजमा नेपालीहरुको महान चाड विजया दशमी र कात्तिकमा तिहार आउँदैछ ।चाडपर्वहरु सुरु भएसँगै सर्वसाधारणहरुको चहलपहल पनि बढ्ने गर्छ । रोजगारीका लागि देशका विभिन्न सहरमा रहेका मकवानपुरबासीहरु दशैंका लागि आउने गर्छन् । जसमध्ये सर्वसाधारणलाई सबैभन्दा पीर हेटौंडा–कुलेखानी–बल्खु सडक खण्ड बनेको छ । मकवानपुरका हजारौं सर्वसाधारण काठमाडौंमा रोजगारी र अध्ययनको शिलशिलामा बसोबास गर्दै आएका छन् । चाडपर्वमा गाउँ आउने मकवानपुरबासी सबैभन्दा धेरै काठमाडौंबाट हुनेछन् । काठमाडौंबाट मकवानपुर आउन सबैभन्दा छोटो मार्ग हेटौंडा–कुलेखानी–बल्खु हो ।

तर, उक्त सडक निर्माणाधीन रहेका कारण सर्वसाधारणले सास्तीसँग यात्रा गर्न बाध्य भएका छन् । चाडपर्वमा ओहोरदोहोर गर्नुपर्ने अवस्थामा यात्रुहरुलाई भैंसेदेखि फर्पिङसम्मको जोखिम सडक टाउको दुखाई बनेको छ । भैंसेदेखि फर्पिङसम्म दुई फरक सरकारी निकायले निर्माण गरिरहेका छन् । भैंसेदेखि भीमफेदीसम्मको करिब ११ किलोमिटर सडक खण्ड यातायात पूर्वाधार निर्देशनालय हेटौंडा र कुलेखानी हेभीदेखि दक्षिणकाली सडक खण्ड प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले निर्माण गरिरहेको हो ।

हालसम्म करिब ४२ प्रतिशत काम भएको भैंसेदेखि भीमफेदी सडक खण्ड समयै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कारोनालगायत अनेक समस्या देखाएर काम ढिलाई गरेपछि यात्रुहरुले सास्तीसँग यात्रा गर्नुपरेको हो ।भैंसेदेखि भीमफेदी सडक खण्डमा २ र ४ नम्बर वडामा मुआब्जाको विवाद देखिए पनि बाँकी क्षेत्रमा कुनै अवरोध नदेखिएको भएता पनि निर्माण व्यवसायीले समयमै निर्माण नगरेका हुन् । असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सडकको एक वर्ष म्याद थप भएको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए । उनले समयमै सडक निर्माण नभएको स्वीकारे । आगामी एक वर्षभित्र निर्माण सक्नुपर्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको ओझा बताउँछन् । निर्माण कम्पनी आशिष–डीएस जेभीले असार २०७९ सम्म सडक निर्माण कार्य सक्नुपर्ने सम्झौता थियो ।

हेटौंडा–भीमफेदी गाउँपालिकाको भैंसे बजारदेखि दक्षिणकाली नगरपालिकाको फर्पिङसम्म सडक जीर्ण छ । दुर्घटनाको जोखिमयुक्त छोटो मार्गको स्तरोन्नति गर्न तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारले सुरुवात गरेको थियो । भीमफेदीको ४ नम्बर वडामा पर्ने करिब ६ किलोमिटर सडक क्षेत्र मुआब्जा विवादका कारण स्तरोन्नति हुन सकेको छैन ।बाँकी क्षेत्रमा कुनै अबरोध नरहेको प्रवक्ता ओझाले बताए । स्थानीय १९ जनाले जग्गाको पनि मुआब्जा पाउनुपर्ने भन्दै अदालतमा रीट दायर गरेका थिए । अदालतले साउनमा मात्रै रीट खारेज गरेपछि निर्माण व्यवसायीलाई सहजसँग बाटो निर्माण गर्न बाटो खुलेको कानुन व्यवसायी बालकृष्ण अधिकारीले जानकारी दिए ।

उक्त सडक खण्डमा वर्षामा माथिबाट पहिरो झरिरहने समस्याका बाबजुद सानासवारीहरु छोटोमार्ग भएर हेटौंडा आवतजावत गरिरहेका छन् । कुलेखानी हेभीनजिक इन्द्रसरोबरको ज्यामिरे बजारदेखि सिस्नेरी हुँदै रामचन्द्र भञ्ज्याङ, छैमले र दक्षिणकालीसम्म सडक निर्माण सुरु भएको छ ।२०७८ सालमै सम्झौता भएपनि भर्खरै निर्माण सुरु भएको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका इन्जिनियर किरण रञ्जितले जानकारी दिए ।

उनका अनुसार इन्द्रसरोबर ज्यामिरे–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्डमा गरेर २० किलोमिटर सडक ७५ करोड लागतमा निर्माण हुँदै गरेको हो । ज्यामिरे बजारदेखि दक्षिणकालीसम्म दुई खण्डमा गरेर १० मिटर चौडाई सडक निर्माण भइरहेको हो ।मकवानपुरतर्फ र काठमाडौंतर्फ गरी दुईतिरबाट काम भइरहेको इन्जिनियर रञ्जितले जानकारी दिए । मकवानपुरतर्फ १० प्रतिशत र काठमाडौंतर्फ २५ प्रतिशत काम भएको उक्त सडकबाट पनि सवारीसाधन चलाउन जोखिम छ । बर्षा लागेपछि निरन्तर पहिरो गइरहेकाले केही दिनदेखि सिस्नेरी सडक खण्ड अवरुद्ध भइरहेको छ । सिस्नेरीबाट लामो समयदेखि सवारीसाधनहरु नियमित सञ्चालन हुन पाएका छैनन् ।

हाल कुलेखानी हेभीबाट फाखेलहुँदै फर्पिङ निस्कने सडकबाट सवारीसाधन चल्दै आएका छन् । उक्त सडक खण्ड पनि जोखिमयुक्त रहेको स्थानीयहरुले बताएका
छन् । साँघुरा बाटो र पहिरोको जोखिमका कारण कुलेखानी–फाखेल–फर्पिङ सडक पनि सुरक्षित छैन । निर्माण कार्य समयमै नसकिँदा हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग ठाउँ–ठाउँमा निकै कष्टकर बनेको हो ।

अप्ठेरो सडक भएका कारण धेरै समस्या भएको र सरकारी निकायबाट यसमा चासो दिनुपर्ने हेटौंडाका समाजसेवी सिद्धिलाल श्रेष्ठले बताए । जोखिमयुक्त सडकका कारण यात्रुहरुले ज्यान धरापमा पारेर यात्रा गर्नुपरेको श्रेष्ठले गुनासो गरे । छोटोमार्ग हुँदै बागमती प्रदेश, मधेश प्रदेश र संघीय सरकारका मन्त्री, सचिवदेखि उच्चपदस्थ व्यक्तिहरु काठमाडौं आवतजावत गर्ने गरेका छन् । बागमती प्रदेशसभामा समेत छोटोमार्गको विषयमा पटक–पटक कुरा उठ्ने गरेको छ । तर, समस्या समाधान हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*