दुर्घटनामा खुट्टा गुमाएकालाई बानियाँद्वारा कृत्रिम खुट्टा सहयोग
हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले दुर्घटनामा परी खुट्टा गुमाएका व्यक्तिलाई कृत्रिम खुट्टा सहयोग गरेका छन् ।नेता बानियाँले विहिबार हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ वर्षीय ईन्द्रबहादुर बस्नेतलाई कृत्रिम खुट्टा सहयोग गरेका हुन् । २०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका बस्नेतलाई उनले ७५ हजार रुपियाँ बराबरको कृत्रिम खुट्टा सहयोग गरेका छन् । करिब साँढे दुईवर्षअघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृत्रिम खुट्टा उपलब्ध गराएका थिए ।
बस्नेत हाल हेटौंडामा अटो चलाएर जीवन निर्वाह गरिरहेका छन् । कृत्रिम खुट्टा हस्तान्तरण गर्दै उनले भने ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृत्रिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हुँ । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’







