भुटनदेवीले सार्वजनिक गर्यो सटरको आयव्यय विवरण
हेटौंडा-हेटौंडा–४ स्थित भुटनदेवी माविले व्यावसायिक सटरको आयव्यय विवरण सार्वजनिक गरेको छ । बिहीबार विद्यालय व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी आयव्यय विवरण र व्यावसायिक भवन निर्माणको प्रक्रियाका बारेमा जानकारी गराएको हो । पछिल्लो समय व्यावसायिक सटर निर्माण गरी भाडामा दिने प्रक्रिया र आम्दानीको सदुपयोगका विषय विवादित बन्दै गइरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले व्यावसायिक सटरको आयव्यय विवरण सार्वजनिक गरेको छ । सुरुवाती चरणमा निर्माण भएका ३० वटा व्यावसायिक सटर विद्यालयले व्यवसायीसँग सम्झौता गरेर भाडामा लगाएको जानकारी दिएको छ ।
पछिल्लो समय निर्माण गरिएका ४० वटा व्यावसायिक सटर भने विद्यालयले सार्वजनिक खरिद ऐन अन्तर्गत टेण्डर प्रक्रियाबाट व्यवसायीसँग सम्झौता गरेको भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिए । व्यावसायिक सटर निर्माण गरी भाडामा लगाएर विद्यालयले दुई करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको प्रधानाध्यापक दाहालको भनाई छ । प्राविधिक विषयसहित १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ६ सय ७० जना विद्यार्थी अध्ययनरत छन् ।







