हेटौंडाका चार सहकारीमाथि रकम हिनामिनाको अशंकामा अनुसन्धान
हेटौंडा- काठमाडौंका थुप्रै सहकारीहरुले बचतकर्ताको करोडौं रुपैयाँ बचत रकम अपचलन गरेको घटना सार्वजनिक भइरहँदा हेटौंडाका सहकारीहरुमाथि आशंक बढ्न थालेको छ ।हेटौंडा नगरभित्र कार्यक्षेत्र बनाई सञ्चालन भइरहेका चार वटा सहकारीमाथि बचतकर्ताको रकम हिनामिना गरेको आशंकामा अनुसन्धान भइरहेको छ । चार सहकारीमध्ये एक सहकारीको रकम हिनामिना घटना प्रहरीकोमा पुगेको र अन्य ती वटा सहकारीमाथि हेटौंडा उपमहानगरपालिका कार्यालयले अनुसन्धान गरिरहेको हो । तत्कालीन डिभिजन सहकारीमार्फत् सञ्चालन भइरहेका सहकारी संघीयताको कार्यान्वयनसँगै २०७४ सालदेखि हेटौंडा उपमहानगरपालिकामा दायित्व सरेर आएकाले त्यसको नियमन उपमहानगरपालिकाले नै गरिरहेको छ । विगतका वर्षमा सहकारी क्षेत्रको कुनै नियमन नभए पनि हाल उपमहानगरपालिकाको सहकारी शाखाले नियमित निगरानी गरिरहेको छ ।
उपमहानगरको उद्योग, सहकारी, पर्यटन शाखाले बचतकर्ताको बचत हिनामिना गरेको आशंकामा हेटौंडा–१ को एउटा सहकारी र हेटौंडा–५ को एउटा सहकारीमाथि अनुसन्धान गरिरहेको हो । शाखाले सहकारीको नाम खुलाउन भने चाहेन । करिब ५ दिनअघि उपमहानगरले यी दुई सहकारीलाई १५ दिनभित्र पाँच वर्षदेखिको हरहिसाब उपलब्ध गराउन अल्टिमेटम दिएको छ ।सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बचतकर्ताहरुको गुनासोमा रकम हिनामिना भएको आशंकामा अनुसन्धान गरिरहेको जानकारी दिए । १ र ५ नम्बर वडाका दुई सहकारीलाई सहकारी संस्थाको हालसम्मको आयव्यय विवरण, कानुनसम्मत भएको प्रमाणसहित आन्तरिक लेखा परीक्षण बुझाउन निर्देशन दिइएको उनले बताए ।
‘सहकारी संस्थाहरु संवेदनशील हुनुपर्छ । त्यहाँ सयौं गरिब, विपन्न, सोझासाझाको लगानी हुन्छ । सहकारीहरुले रकम हिनामिना गरेको आशंका लागेपछि हामीले अनुसन्धान थालेका हौं । दोषि देखिए हदैसम्मको कारबाही हुन्छ ।’ शाखा प्रमुख पौडेलले भने, ‘उपमहानगर कार्यालयको एउटै उद्देश्य भनेको बचतकर्ताको लगानी सुरक्षित रहनुपर्छ, सहकारीहरु पादर्शी ढंगबाट सञ्चालन हुनुपर्छ भन्ने हो । त्यसो नभएको पाएमा कारबाही गर्छौ ।’उपमहानगरपालिकाले ४ नम्बर वडाकै एक सहकारीमाथि पनि अनुसन्धान गरिरहेको छ । ४ नम्बर वडाको एक सहकारी सदस्यले ऋण काठमाडौंस्थित एक बैंकबाट बुझाएको तर, ऋण रकम सहकारीले इन्ट्री नगरेको भनेर दुःख दिएको भन्दै उजुरी परेपछि कार्यालयले अनुसन्धान गरिरहेको छ ।
हेटौंडा–२, स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारीमाथि अनुसन्धान चलिरहँदा बचतकर्ताहरु प्रहरीकोमा पुगेका छन् । सहकारीले लाखौं रकम हिनामिना गरेपछि साढे २ सय जना बचतकर्ता उजुरी लिएर प्रहरीकोमा पुगेका हुन् । बचतकर्ताको ४६ लाखभन्दा बढी बचत हिनामिना भएको घटनामा सहकारीका सञ्चालकहरु अध्यक्ष धादिङ फुलखर्कका हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङ प्रहरी हिरासतमै छन् । अधिकारी र तामाङलाई दर्जनौं बचतकर्ताहरुले सहकारीको पासबुकसहित १ भदौमा उजुरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
सहकारीमा बचतकर्ताले जम्मा गरेको ४६ लाख बढी रकम हिनामिना भएको घटना भने पुरानै हो । उक्त घटना यसअघि नै जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो । प्रहरी कार्यालयमा सहकारी सञ्चालक अधिकारी र तामाङले पीडितहरुसँग निश्चित समय तोकेर रकम उपलब्ध गराउने सहमति गर्दै चेक दिएका थिए ।
तर, तोकिएको समयमा पैसा फिर्ता नगरेपछि पीडितहरु प्रहरीकोमा पुगेका हुन् । सहकारीका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले प्रहरीको रोहबरमा पीडितहरुलाई तीन महिनाभित्र हिनामिना भएको रकम फिर्ता गर्ने गरी २०७९ जेठको दोस्रो हप्तामा सहमति गरेका थिए ।
पीडितहरुले बचत रकम सबै फिर्ता मागेपछि अधिकारी र तामाङले पीडितहरुले तीन महिनाभित्र हिनामिना भएको ४६ लाख र ऋण लगानी भइसकेको सर्वसाधारणको बचत रकम गरेर ७२ लाख फिर्ता गर्ने सहमतिमा जनाएका थिए ।उपमहानगरले हेटौंडाका चार सहकारीमाथि अनुसन्धान गरिरहे पनि अन्य सहकारीमा पनि बचतकर्ताको बचत असुरक्षित भइरहेकोप्रति चिन्ता व्यक्त गरेको शाखा प्रमुख पौडेल बताउँछन् । हेटौंडामा ११ वटा सहकारीको अझैसम्म अत्तोपत्तो छैन । हेटौंडा उपमहानगरपालिकाभित्र कार्यक्षेत्र भएर पनि कार्यालय सञ्चालन नगरी झोलाभित्रै थन्किएका सहकारीहरुलाई कारबाही गर्ने तयारी अघि बढेको हो ।तर, सहकारीका सञ्चालकहरु कार्यालयमा उपस्थित नहुँदा थप समस्या बढेको छ । सर्वसाधारणको लाखौं रकम उठाएर कार्यालयसमेत नराखी सञ्चालन हुँदै आएका वा अस्तित्वमै नभएका करिब १३ वटा सहकारीलाई हेटौंडा उपमहानगरले यसअघि खारेजीको प्रक्रियामा लाने जनाएको थियो ।
उक्त सूचना सञ्चारमाध्यमबाट आएपछि शुक्रबारसम्म गायब भएका दुई वटा सहकारी उपमहानगरपालिकाको सम्पर्कमा आएको सहकारी शाखा प्रमुख पौडेलले बताए । सम्पर्कमा आएका सहकारीहरु हेटौंडा–४ स्थित, महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हेटौंडा–२ को युवा बचत तथा ऋण सहकारी हुन् । सहकारीका पदाधिकारी, सदस्यहरुले ऐन नियम नै नपढ्ने कारणले सहकारीहरु अस्तव्यस्त बन्दा झनै समस्या देखिएको पौडेल बताउँछन् । उपमहानगरले सहकारी संस्थाहरुमा नियमन गर्न थालेपछि सञ्चालकहरु सचेत भएको उनले बताए ।
उपमहानगरपालिका कार्यालयले सहकारी संस्थाहरुलाई आइतबार सहकारी ऐन सम्झाउने गरी सूचना जारी गर्न लागेको छ । उपमहानगरले सूचना जारी गर्दै समयमै प्रतिवेदन पेश नगर्ने संघ÷संस्थाहरुलाई सचेत गराउने तयारी गरेको हो ।सहकारी ऐन अनुसार संघ÷संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखा परीक्षण र ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरी साधारणसभाको निर्णय र पारित लेखा परीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।







