सन्तोषी वनकरियालाई थाहा नारीरत्न सम्मान प्रदान

साझाकुरा
२०७९ भाद्र ११, शनिबार १०:४०

हेटौंडा- बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ ले यसवर्षको थाहा नारीरत्न सम्मान सन्तोषी वनकरियालाई प्रदान गरेको छ । रेडियोले हरेक वर्ष प्रदान गर्दै आएको थाहा नारीरत्न सम्मान यसवर्ष नेपालकै लापोन्मुख वनकरिया समुदायकी सन्तोषी वनकरियालाई प्रदान गरेको हो । लोपोन्मुख वनकरिया समुदायबाट पहिलो जेटीए बनेकी उनलार्ई थाहासञ्चारले हरितालिका तीजको अवसरमा थाहा नारीरत्न सम्मानबाट सम्मानित गरेको हो । सम्मानित हुने सन्तोषीले जंगलमा नै जन्मेर ९ वर्ष जंगल जीवन बिताएकी थिइन् । ९ वर्षपछि समुदायमा झरेकी उनी हाल गाउँका बालबालिकालाई पढाउने र खेतीपाती गर्न सिकाउने काम गर्छिन् ।

रेडियोका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रनामनि किरण बज्राचार्यको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्जाचार्यले आफूलाई परेका कुराहरुलाई साथीहरुमार्फत् समाधानको उपाय खोज्ने पर्वको रुपमा तीज रहेको बताइन् । महिलाहरुको मनमा लुकेका समस्याहरु उजागर गर्ने समय र साहसको रुपमा तीजले आफ्नो विशेषता बोकेको उनको भनाइ थियो । बज्राचार्यले हिम्मत, साहस र ज्ञान महिलामा कमि नभई अवसरको मात्रै कमि भएको बताइन् ।उनले अवसर आउँदा आफू उभिन महिलाहरुलाई आग्रह गरिन् । त्यस्तै रेडियोका प्रबन्ध निर्देशक सुमार्गीले रेडियोले आफ्नो क्षमता अनुसार निष्पक्ष तरिकाले स्वतन्त्र रुपमा काम गरिरहेको बताए । उनले मकवानपुर जिल्लाका दार्शनिक व्यक्ति रुपचन्द्र विष्टको जन्म भएको भन्दै विष्टको थाहा दर्शनलाई नेपालभरि बोकेर हिँड्दै गर्दा आजसम्म आइपुग्दा नेपालभरि प्रसारण हुने रेडियो भएको बताए ।

उनले रेडियो थाहाले नेपालीहरुको हरेक संस्कृतिको जगेर्ना गर्दै आइरहेको भन्दै नेपाली समाजले अर्गानिक काम गरेकोसमेत दाबी गरे ।कार्यक्रममा रेडियोका सञ्चालक अंकिता सुमार्गी, हेटौंडा उपमहानगरपालिका आर्थिक विकास महाशाखाका गंगा चौलागाई, रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*