३ क्विन्टल बढी लागूऔषध गाँजासहित एकजना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले शुक्रबार ३ क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिकाको छुट्टा छुट्टै स्थानमा २ वटा ट्रकबाट ३ सय ३० केजी ३७ ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजासहित एकजनालाई पक्राउ समेत गरेको हो । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–९ महाभीर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना. ७ ख ३९८७ नम्बरको आईचर ट्रकलाई सुरक्षा जाँच गर्ने क्रममा २ सय ५६ किलो २८ ग्राम लागूऔषध गाँजासहित ट्रक चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । त्यस्तै, ईलाका प्रहरी कार्यालय भीमफेदीबाटै खटिएको प्रहरीले ना. ८ ख २७१८ नम्बरको आईचर ट्रकबाट ७४ केजी ९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । उक्त लागूऔषध गाँजा र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको कार्कीले बताए । बरामद गरिएको लागूऔषध गाँजा र ट्रकसहित लामाको अनुसन्धान कार्य भइरहेको कार्कीको भनाइ छ ।







