सहकारीकर्मीहरुको तीज विशेष कार्यक्रम
हेटौंडा-हरितालिका तीजको अबसर पारेर हेटौंडाका सहकारीकर्मी महिलाहरुले शुक्रबार तीज विशेष कार्यक्रम मनाएका छन् ।जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले साकोसमार्फत् महिला सशक्तिकरण विषयक तीज विशेष कार्यक्रम गरेको हो । संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख अतिथ्यता तथा संघका महिला उपसमितिका संयोजक जुना दंगालको अध्यक्षतामा कार्यक्रम भएको हो । महिलाहरुको पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा संघले महिला सशक्तिकरण विषयक अन्तक्र्रियासमेत गरेको थियो ।
कार्यक्रममा संघमा आवद्ध भएका महिला सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरुको उपस्थिति थियो । कार्यक्रममा दर खाएर नाचगानका साथ रमाइलो गरिएको छ । कार्यक्रममा संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवाले संघले तयार पारेको चार वर्षीय रणनैतिक योजनाबारे जानकारी प्रस्तुत गरेकी थिइन् । उनले संघको शेयरपूँजी ४ करोड ४१ लाख ६५ हजार रहेको जानकारी दिइन् । संघले आफ्ना शेयर सदस्य संस्थालाई ३८ करोड ४८ लाख ४२ हजार कर्जा प्रदान गरिएको र संघको निक्षेप ६८ करोड १० लाख १९ हजार रहेको व्यवस्थापक वाईवाले बताइन् । संघमा हाल एकसय ३९ वटा सहकारी संस्था आवद्ध छन् ।







