भुटनदेवी स्कूलको कानुन विपरित बनाइएको सटरः कहिले चल्छ डोजर ?

साझाकुरा
२०७९ भाद्र १२, आईतवार ०९:१९

हेटौंडा- काठमाडौंमा कानुन विपरित बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहेको छ । काठमाडौं महानगरपालिकाले कानुन विपरित निर्माण भएका संरचना र भवनको तल्लो तह अर्थात अण्डर ग्राउण्ड पार्किङमा व्यवसाय चलाइरहेकालाई पनि हटाउँदै आएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले कानुन विपरित नक्सा पास नभई बनाइएका संरचना कुनै हालतमा भत्काइने बताउँदै आएका छन् । अब काठमाडौंमा मात्र हैन, हेटौंडामै कानुन विपरित संरचना बनाएको खुलेको छ । कानुन विपरित संरचना बनाउने व्यवसायी, व्यापारी हैन सरकारी विद्यालय हो । हेटौंडा–४ स्थित भुटनदेवी विद्यालयले नै कानुन विपरित सटर निर्माण गरेर वर्षौदेखि भाडा उठाउँदै आएको खुलेको हो।
विद्यालयलाई मन्दिरका रुपमा लिइन्छ । त्यहाँ पढ्ने विद्यार्थीलाई कानुनदेखि संस्कारका कुरा सिकाइन्छ । तर, त्यही विद्यालय नै कानुन उल्लघंन गर्दै आइरहेको पाइएको हो । भुटनदेवी माध्यमिक विद्यालयले नक्सा बिनै व्यावसायिक भवन निर्माण गरेर भाडामा लगाउँदै आएको हो । विद्यालयको आयआर्जनका लागि भन्दै कानुन मिचेर मनाइएको सटरबाट भाडा उठाउँदै आएको हो ।

कानुन सबैले पालना गर्नुपर्छ भनेर गफ दिने विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल नै कानुन मिच्न उद्दत छन् । विद्यालयमा जाने अभिभावकदेखि सर्वसाधारणलाई ‘मै हुँ’ भन्ने शैलीमा प्रस्तुत हुने दाहालकै सेटिङमा वर्षौदेखि विद्यालयले कानुन मिचेर सटर भाडामा लगाउँदै आएको हो । भुटनदेवी स्कुलकै कारण सटरका विषयमा विवाद हुँदा केही दिनअघि हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको थियो । सिग्देलमाथि सटरको विषयमा प्रकाशित समाचारलाई लिएर कुटपिट भएको थियो । सिग्देलमाथि कुटपिट हुने अवस्थामा ल्याउन विद्यालय दोषि देखिन्छ । सटर भाडा लगाउँदै विधि प्रक्रिया नपु¥याएको विद्यालय प्रशासनले सम्झैता अगावै ठेकेदार पक्षलाई
सटर दिएको खुलेको छ । सोही सम्बन्धमा समाचार छापिएपछि सटरको ठेक्का पार्ने व्यक्तिहरुले समाचार लेखाउन लगाएको भन्दै सिग्देलमाथि आक्रमण गरेका थिए ।
कानुन मिचेर सटर बनाउने र वडा अध्यक्ष पिटाउने कार्यमा अप्रत्यक्ष भूमिका रहेको विद्यालयमाथि कारबाही हुनुपर्ने स्थानीयहरु बताउँदै आएका छन् । स्थानीयहरुले कानुन विपरित बनेको उक्त सटरमाथि उपमहानगरपालिकाले डोजर चलाउनु पर्ने बताएका छन् ।

सरकारी विद्यालय नै ‘दादागिरी’ शैलीमा कानुन मिचेर सटर बनाउन मिल्छ ? भन्दै स्थानीयहरुले सामाजिक सञ्जालमा उपमहानगरलाई दबाब दिँदै डोजर लगाएर भत्काउन आग्रह गरिरहेका छन् । सटरमाथि स्थानीयहरुले आक्रोश वडा अध्यक्षले पिटाई खाएपछि बढेको देखिन्छ ।कुटपिटको अवस्थामा ल्याउन विद्यालयको भूमिका रहेको भन्दै सटर भत्काएर सडक फराकिलो बनाउन स्थानीयहरुले आग्रह गरिरहेका हुन् । ‘गल्ती गर्ने विद्यालय, गल्ती भयो भनेर समाचार लेख्दा वडा अध्यक्षले पिटाई खानु पर्ने । यो सबै घटनामा दोषि विद्यालयका प्रअ र अध्यक्ष छन् । पहिला उनीहरुलाई कारबाही हुनुपर्छ ।,’ ४ नम्बर वडाका एक स्थानीयले भने । विद्यालयले २०६० सालदेखि नै भवन निर्माण गरी भाडामा लगाउँदै आएको थियो । विद्यालयले पछिल्लो पटक व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भदौबाट भाडामा लगाइएको ४१ वटा सटर समेत हेटौंडा उपमहानगरपालिकाबाट नक्सा स्वीकृतिबिनै बनेको छ ।

विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले सुरुदेखि नै व्यावसायिक भवनको नक्सा नबनाइएको स्वीकार गर्दै नक्सा बनाउने प्रक्रियामा रहेको जानकारी दिए । विद्यालयको प्रअ जस्तो जिम्मेवार पदमा बसेका दाहालले कानुन मिचेको स्वीकार गरिरहँदा उनलाई नैतिकताका आधारमा कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।
सुरुमा व्यावसायिक प्रयोजनका लागि भाडामा दिने सीमित कोठा निर्माण गरिएको भन्दै त्यतिबेला नक्सा आवश्यक नठानिएको दाहालले बताए । पछिल्लो पटक अस्थायी टहरो मात्र बनाउने भन्दै नक्सा बनाएर स्वीकृत गर्नेतर्फ नलागिएको उनको भनाई छ । अहिले विषय उठेको भन्दैै अब नक्सा बनाउने प्रक्रियामा जाने भन्दै दाहालले खुलेआम कानुन मिचेको स्वीकारेका छन् । उनले नक्सा स्वीकृतिका लागि उपमहानगरपालिकामा बुझाएको बताए ।

भवन बनाउनुपूर्व नक्सा बनाएर उपमहानगरपालिकाबाट स्वीकृत लिएपछि मात्र भवन बनाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यालयको जग्गामा व्यावसायिक प्रयोजनका लागि भवन बनाएर भाडामा लगाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे तामाङ आफैं हेटौँडा उपमहानगरपालिका–१० का वडाध्यक्षसमेत छन् । तामाङले व्यावसायिक भवनबाट आउने भाडाबापतको आम्दानीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम भइरहेको दाबी गरेका छन् । तर, विद्यालयको गुणस्तर झनझन खस्किँदै गएको छ । भुटनदेवी स्कुलसँगै रहेको आधुनिक मावि देशकै उत्कृष्ट विद्यालय बनिरहँदा भुटनदेवी भने जिल्लाकै कमजोर विद्यालय बनेको हो । सटर भाडामा लगाएर पैसा कमाउने ध्यानमा मात्रै लागेको विद्यालयले गुणस्तरीय शिक्षामा कुनै ध्यान नदिएको अभिभावकहरु नै गुनासो गर्छन् ।

समिति अध्यक्ष तामाङले भाडामा लगाइएको ७३ वटै सटर भवनको नक्सा पास उपमहानगरपालिकाबाट नभएको र अब प्रक्रियामा जाने बताएका छन् । विद्यालयले पहिले निर्माण गरी ३० र हालै निर्माण गरी ४३ वटा सटर भाडामा लगाएको छ ।विद्यालयको पूर्वतर्फ पारिजातपथ र पश्चिमतर्फ भैरवरोडमा व्यावसायिक प्रयोजनका लागि सटर निर्माण गरी भाडामा लगाएपनि विद्यालयले दुवै तर्फ भाडामा बस्ने र आउने ग्राहकका लागि सवारीसाधन राख्ने प्रयोजनका लागि पार्किङको व्यवस्थासमेत गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*