हेटौंडामा तीन कविता उत्कृष्ट हुँदा दुईले प्रोत्साहन पाए
हेटौंडा- हेटौंडामा साहित्य संगम मकवानपुरले मोती जयन्ती, कुशे औंसीमा गरेको विशेष खुल्ला कविता प्रतियोगिताबाट तीन उत्कृष्ट कविता र दुई प्रोत्साहन कविता छनौट भएका छन् ।प्रतियोगितामा ३४ कवितामध्ये २८ कविता वाचन गरिएको थियो । ६ वटा कविता भने अनुपस्थित भएकाले वाचन हुन नसेको साहित्य संगमले जनाएको छ । २ हजार ५ सय राशीको उत्कृष्ट पुरस्कारतर्फ तीन सर्जकहरु स्वस्तिका दाहाल, समर्पण न्यौपाने, एलिसा पराजुली पुरस्कृत भएका छन् ।
१ हजार राशीको प्रोत्साहन पुरस्कारतर्फ उषाकिरण अधिकारी र गौरी कँडेल घोषित भएका छन् । प्रतियोगिताको प्रायोजक बुढ्यौली साहित्य मकवानपुर रहेको थियो । बुढ्यौली साहित्यका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सती प्रमुख अतिथि रहेको कार्यक्रममा निर्णायकहरु घनश्याम घिमिरे, छवि अनित्य र विश्वनाथ सञ्जेल रहेका थिए । निर्णायक टोलीका संयोजक घनश्याम घिमिरेले कविताले लाक्षणिक चेतना, सिर्जनात्मक क्षमता, व्यंग्यात्मक र प्रतिकात्मक शब्द र सो अनुसारको भाव बोकेको हुनुपर्छ भन्दै केवल चिठी लेखेजस्तो रचना कविता हुन नसक्ने बताए ।
साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता भएको कार्यक्रममा सर्जक संजाल मकवान संयोजक निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, साहित्य संगम मकवानपुर उपाध्यक्ष सानु खनाल, गजलकार हरि पौडेल, देवराज खरेल, मुना अर्याल, झरना साहित्यका अध्यक्ष दीपक गौतम,
देवराज तिवारी, यश लामा, एस. के. निधनलगायका सर्जकहरुको उपस्थिति थियो ।







