मकवानपुरका विद्यालय कर्मचारीः आफ्नो सुविधा मागेर विद्यार्थीमाथि अन्याय
हेटौंडा- मकवानपुरको सामुदायिक विद्यालयमा कार्यरत् कर्मचारीहरुले आइतबार जिल्लास्थित विद्यालय बन्द गराएका छन् ।आफ्नो सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेर बालबालिकाको भविष्यमाथि विद्यालयकै कर्मचारीहरुले अत्याचार गरेका हुन् । कोरोना महामारीका कारण नियमित विद्यालय जान नपाएर कमजोर बनेका विद्यार्थीले पढन पाउनुपर्ने अधिकार बञ्चित गराउन विद्यालयकै कर्मचारीहरु अग्रसर भएका छन् ।नेपाल विद्यालय कर्मचारी परिषद्ले १२ भदौ आइतबारदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गराउने निर्णयको कार्यान्वयन गराउन गरेको निर्देशनअनुसार मकवानपुरका विद्यालय पनि आइतबार बन्द भएका थिए ।
विद्यालयका कर्मचारीहरुको विद्यालय बन्द गराउने अभियानमा शिक्षकहरु नै सक्रिय भएको पाइएको छ । सेवा सुरक्षा ग्यारेन्टीलगायत विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरु १ भदौदेखि आन्दोलन गर्दै आएका थिए । आइतबार हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरु बन्द थिए । उपमहानगर कार्यालयका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले नगरका अधिकांश सामुदायिक विद्यालयहरु बन्द भएको बताए । उनले विद्यालयका कर्मचारीहरु विद्यालय बन्द गराउँदै हिँडेको बताए । मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामबहादुर घलानले अधिकांश विद्यालयहरु बन्द भएको बताए ।
मनहरी गाउँपालिकाले भने १२ गते विद्यालय बन्द भएको विषयमा ध्यानाकर्षण भएको बताउँदै आज सोमबारदेखि पठनपाठन नियमित गराउन विद्यालयलाई निर्देशन दिएको छ । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले एक सूचना जारी गर्दै विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयमा खाईपाई आएको भन्दा ७ हजार बढी रकम गाउँपालिकाले दिने गरी बजेटमै समावेश भएकोले आन्दोलन नगर्न निर्देशन दिएका छन् । भीमफेदी गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले अधिकांश सामुदायिक विद्यालयहरु बन्द रहेको बताए ।
अभिभावकहरुले विद्यालयका कर्मचारीहरुले पैसा बढाई दिन माग राखेर आन्दोलन गर्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नहुने बताएका छन् । आन्दोलन गरेपनि विद्यालयका पठनपाठन नियमित हुनुपर्ने अभिभावकहरुको भनाइ छ । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत् विद्यालय कर्मचारीहरुलाई आइतबार पत्राचार गर्दै वार्ताको लागि बोलाएको छ । मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन परिषद्लाई आग्रह गरेको हो ।







