मापसे गरेर सवारी चलाउनेको संख्या बढ्यो
हेटौंडा- मकवानपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको संख्या बढ्दो अवस्थामा रहेको देखिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको अनुसार जिल्लामा मापसे गरेर सवारी चलाउनेको संख्या बढ्दो देखिएको हो । मापसेको कारण जिल्लामा सवारी दुर्घटना समेत बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको अनुसार गतवर्ष साउन महिनामा ३ जनाले मापसे गरेर सवारी चलाउएको भन्दै जरिवाना गरिएको थियो । तर, चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो महिनामा ५९ जना ट्राफिकले गरेको मापसे परीक्षणको छड्केमा परेका थिए ।
दुई आर्थिक वर्षको पहिलो साउन महिनाको तथ्यांकलाई हेर्दा चालू आर्थिक वर्षमा मापसे गरेर सवारी चलाउनेको संख्या धेरै बढेको देखिन्छ । पछिल्लो समय जिल्लामा सवारी दुर्घटनाको संख्या पनि वृद्वि भइरहेको छ ।हेटौंडा उपमहानगरपालिकाले मापसे परीक्षण गर्ने मेसिन उपलब्ध गराएसँगै मापसे परीक्षणलाई तीब्रता दिइएको ट्राफिक प्रहरीको भनाइ छ । गत आवमा ट्राफिका अनुसार कुल २ सय ३४ जनाले मादक पदार्थ सेवन गरेर सवारी चलाइएको पाइएपछि नगद दुईलाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।







