आज हरितालिका तीज मनाइँदै
हेटौंडा- आज भाद्र शुक्ल तृतीया, हरितालिका तीज । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुशी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजा आराधना गरिन्छ । आज हरितालिका तीजको अवसरमा मकवानपुरको शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लाग्ने गर्दछ ।हेटौंडाको पशुपती मन्दिरमा प्रत्येक वर्ष तीजको दिन व्रतालु महिलाहरु पूजाआजा गर्न लाइन लाग्ने गरेका छन् ।
अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन् । लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । तीज उत्सव मनाउन थालिएको धर्म तथा सस्ंकृती सम्बन्धी जानकार रामचन्द्र आचार्य ‘फुर्सती’ बताउँछन् ।
तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।







