हेटौंडामा अवैध संरचना हटाउन र फोहोरमैला व्यवस्थापन गर्न कार्यदल
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले नगरभित्र कानुनविपरित निर्माण भएका भौतिक संरचना हटाउन कार्यदल गठन गरेको छ । काठमाडौंमा अवैध संरचना हटाउने सुरु भएपछि हेटौंडामा पनि अवैध संरचना हटाउन उपमहानगरमाथि दबाब थियो । नगरबासीहरुले कानुन मिचेर बनाएका संरचना, फुटपाथ व्यवस्थापनमा चासो दिन दबाब दिएसँगै कार्यदल गठन गरेर काम गरिने भएको हो । हेटौंडा–१० का वडा अध्यक्ष फुर्वादोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय बुधबार बसेको नगर कार्यपालिका बैठकले गरेको छ । कार्यदलले नगरका १९ वटै वडामा कानुनविपरीत बनेका संरचनाहरुको अनुगमन गर्ने र प्रतिवेदन पेश गर्ने जनाइएको छ ।
बैठकले ३५ दिने सूचना जारी गरी काम अघि बढाउने निर्णय गरेको मेयर लामाका प्रेस संयोजक राजन दाहालले जानकारी दिए । कार्यदलले बजार क्षेत्रका अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने जनाइएको छ । नगरक्षेत्रमा नक्सा पास नभई बनेका साना ठूला टहराहरु स्वःस्फुर्त हटाउन ३५ दिने सूचना प्रकाशन गरेसँगै कार्यदलको काम सुरु हुने बताइएको छ ।कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा कार्यपालिका सदस्य ईश्वरी रसाइली, हेटौंडा–२ का वडा सदस्य सुरज बतौंला, हेटौंडा–४ का सदस्य जेएन श्रेष्ठ र सरोकारवाला निकाय मकवानपुर उद्योग वाणिज्य संघबाट एक सदस्य रहने बताइएको छ ।
उपमहानगरपालिका क्षेत्रमा पर्ने राजमार्गभन्दा बाहेकका स्थानमात्रै अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी भइरहेको जनाइएको छ । मेयर मिनाकुमारी लामाले राजमार्ग क्षेत्र स्थानीय सरकारको कार्यक्षेत्रभित्र नपर्ने भन्दै नगरका भित्री स्थानमा कानुनविपरित बनेका संरचनाहरु हटाउने बताइन् । हेटौंडाको राजमार्ग क्षेत्र साँघुरो भएर ट्राफिक व्यवस्थानमा कठिनाई हुनुका साथै सडक दुर्घटना पनि निम्त्याइरहेको छ । उपमहानगरले राजमार्ग क्षेत्रलाई फराकिलो बनाउने निर्णय लिइसकेको छ । हाल साँघुरो राजमार्ग क्षेत्रको मुख्य सडकलाई २५ गज फराकिलो बनाउने मेयर लामाले बताइन् । हेटौंडाको साँघुरो मुख्य सडक वर्षौदेखि फराकिलो बनाउने भनिए पनि हालसम्म सफल हुन सकेको छैन ।
हेटौंडाको बीच सडक पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ पर्छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् रातोमाटेदेखि राप्तिपुलसम्म यसअघि सडक भत्काउन खोजिए पनि स्थानीय र राजमार्ग क्षेत्रका व्यवसायीहरुको आन्दोलनले सडक विस्तार कार्य रोकिएको थियो ।यसैगरी, उपमहानगरले फोहोरमैला व्यवस्थापन कार्यदल पनि गठन गरेको छ । हेटौंडा देशकै सफा सहरका रुपमा यसअघि पुरस्कृत भइसकेको स्थानीय तह हो । नगरभित्र नियमित फोहोर संकलन गर्ने कार्य भइरहेको छ । उपमहानगरले निजी क्षेत्रको सहकार्यमा फोहोर व्यवस्थापन गरिरहेको छ ।तर, हेटौंडा प्रदेश राजधानी भएपछि बढेको जनघनत्वका कारण फोहोर व्यवस्थापनका लागि चुनौती देखिँदै गएको छ । यसकारण हेटौंडाको फोहोर व्यवस्थापनलाई दीगो योजना बनाई फोहोरमैला व्यवस्थापनलाई जोड दिने नीति उपमहानगरले लिएको हो । उपमेयर राजेश बानियाँको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन कार्यदल गठन भएको छ ।
कार्यदलमा हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, १० का अध्यक्ष फुर्वादोर्जे लामा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्बा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुवेदी सदस्य छन् । कार्यदलले नगर क्षेत्रबाट निस्किएका फोहोरलाई एकै ठाउँ डम्पिङ गर्ने भन्दा पनि फरक–फरक ठाउँहरुमा व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
बुधबार बसेको कार्यपालिका बैठकले महिला जनप्रतिनिधिलाई गत कार्यकालमा खरिद गरिएको पोशाक (कोट, सारी) को भुक्तानी दिन बाँकी रकम भुक्तानी दिने, हेटौंडामा भएको प्रेस युनियनको नवौं केन्द्रीय महाधिवेशनको लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । प्रेस युनियनको महाधिवेशन ६ साउनदेखि तीन दिन हेटौंडामा भएको थियो ।बैठकले निर्वाचित पदाधिकारीले एक सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको पर्यटन समितिमा पर्यटन व्यवसायी भागीरथ शर्मा, इतिहास खोजकर्ता केदारप्रसाद न्यौपाने र सञ्चारकर्मी सिर्जना नेपाललाई सदस्य नियुक्त गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । बैठकले श्रेणी विहीन कर्मचारीको स्तर कायम गर्ने, विभिन्न तहका कर्मचारीहरुको स्तरबृद्धि अनुमोदन गर्ने, हेटौंडा–९ र १० मा पोखरी पार्क निर्माण गर्न डीपीआर निर्माण गर्ने, योजना कार्यान्वयनको लागत सहभागिता निर्धारण, हेटौंडा–१० को तरकारी बजार हेटौंडा–१ चौकिटोलमा सार्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।







