मकवानपुरसहित ५१ स्थानमा बन्दै चार्जिङ स्टेसन
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन बनाउने भएको छ ।बुधवार काठमाडौंमा चार्जिङ स्टेसनको उद्घाटन गरेको प्राधिकरणले देशभर मकवानपुरसहित ५१ वटा स्थानमा निर्माणको तयारी गरिरहेको हो । प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत् हाल सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला शहरहरु पर्ने ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण भइहेको छ । जसअन्तर्गत् हेटौंडाको रातोमाटे मुख्य राजमार्ग क्षेत्रमा पर्छ । २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना÷ ठूला कारहरू चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।
आन्तरिक रुपमा विद्युत्को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधान प्रयोगमार्फत् वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो । नेपाल प्रहरी र सशष्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरुका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरुमा औसत सत्तरी पैसा, एसयूभीहरुमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरुमा एक रुपैयाँ बीस पैसा प्रति किलोमिटर खर्च लाग्नेछ ।
नेपालमा उपलब्ध सवारीसाधनहरुमा रहेको ब्याट्री क्षमताअनुसार कम्तिमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने जनाइएको छ । हरेक चार्जिङ स्टेसनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिनेछ ।







