हेटौंडा जेसीज १५ वटा कार्यक्रम गरेर सप्ताह मनाउँदै
हेटौंडा- सामाजिक क्षेत्रमा क्रियाशील हेटौंडा जेसीजले १५ वटा कार्यक्रम आयोजना गरेर सप्ताहव्यापी कार्यक्रम मनाउने भएको छ । हेटौंडा जेसीजका अध्यक्ष पवनकुमार कंसाकारले आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु हुने जानकारी दिए । जेसीजले १९ भदौमा लागूऔषध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रम शुभारम्म गर्ने भएको छ । २० भदौमा रक्तदान कार्यक्रम र हेटौंडा अस्पतालमा फलफुल वितरण कार्यक्रम गरिने हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिए । २१ भदौमा जेसीज र बैंकर्सबीच मैत्रीपूर्ण फुटसल कार्यक्रम, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । जेसीज सप्ताह कार्यक्रमअन्तर्गत् २२ भदौमा वृक्षरोपण कार्यक्रम र अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, २३ भदौमा अम्बिका देवी स्मृति हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिने जनाइएको छ ।
२४ भदौमा मकवानपुर र बाराको सीमाना चुरियामाई मन्दिर क्षेत्रमा स्वागत बोर्ड राखिने कार्यक्रम रहेको महासचिव श्रेष्ठले बताए । २४ भदौमै हेटौंडा–९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने, २५ भदौमा जेसीज सप्ताह कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जनाइएको छ । प्रतियोगितात्मक कार्यक्रममा भने नगदसहित पुरस्कारहरुको समेत व्यवस्था रहेको बताइएको छ ।







