फोहोरबाट आम्दानी गर्दै थाहा नगरपालिका
हेटौंडा-पश्चिम मकवानपुरको थाहा नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । थाहा नगरपालिकाले जैविक र अजैविक फोहोर बिक्रीबाट आम्दानी गरेको हो । नगरपालिकाले गत आर्थिक ववर्षमा जैविक फोहोरबाट मल र अजैविक फोहोर बिक्रीबाट साढे एक लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।ञपालिकाले प्रत्येक वडामा बजार पहिचान गरी व्यवस्थापन समिति गठन गरेको छ । नगरपालिकाले १६ वटा समितिबाट फोहोर संकलन गरेर थाहा नगरपालिका–२ टाखेल र ६ बज्रवाराही स्थित सेरिगेसन हाउसमा जम्मा गर्ने गरेको जनाएको छ । त्यहाँ कुहिने र नकुहिने फोहर छुट्याइने गरिएको छ । नकुहिनेलाई बिक्री र कुहिनेबाट मल बनाइने गरेको नगर प्रमुख विष्णु विष्टले जानकारी दिए । उनले नकुहिने फोहोरको उचित व्यवस्थापन गर्दै आएको पनि जानकारी दिए । उनको अनुसार नगरबाट दिनहुँ २ हजार ५ सय किलो फोहोर संकलन हुने गर्छ । त्यसमध्ये ४ सय किलो कुहिने फोहोर हुने उनले जनाए ।
सहरीकरणसँगै फोहोरको मात्रा बढेको भन्दै नगरले त्यसलाई घटाउन तालिम आयोजना, डस्टबिन वितरणलगायत कार्यक्रम गरिरहेको छ । दिगो रूपमा फोहर व्यवस्थापन गर्न जग्गा छनोट गरी पूर्वाधार बनाउन लागिएको उनले बताए ।समुदायलाई परिचालन गरेर उचित ढंगले फोहोरको व्यवस्थापन गर्दै आएकाले आम्दानी हुन थालेको उनको भनाई छ । छुट्टै कार्यविधि नै बनाएर स्थानीयलाई अपनत्व हुनेगरी व्यवस्थापन गरिरहेकाले थप लगानी गर्नु नपरेको विष्टले बताए ।







