उपमहानगरको सय दिनः महत्वका काम धेरै, प्रचार थोरै

साझाकुरा
२०७९ भाद्र २०, सोमबार १०:२८

हेटौंडा- गत ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनबाट हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले एकसय दिनको प्रगति सार्वजनिक गरेका छन् ।हेटौंडाकी मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ र १९ वटै वडा अध्यक्षहरु निर्वाचित भएको एकसय दिनको प्रगति विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । उपमहानगरको प्रगति विवरण हेर्दा महत्वका काम धेरै, प्रचार थोरै भएको पाइएको छ । नगरबासीलाई निःशुल्क खानेपानी दिनेदेखि, विकटका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने काम, नगरलाई हरियाली र सफा राख्ने कामले मेयर लामाले काममा जोड दिएको तर प्रचार नगरेको जनाइएको छ । अन्य नगरमा काम थोरै, प्रचार धेरै भइरहेको सन्दर्भमा नगरबासीबाटै आलोचना खेपिरहेका जनप्रतिनिधि अगाडि लामाले कामबाटै प्रशंसा बटुलेकी छन् ।

उपमहानगरपालिकाले एकसय दिनभित्र नगरबासीहरुको मौलिक हक अधिकारको पक्षमा धेरै काम गरेको जानकारी दिएको छ । जनप्रतिनिधिहरुले निर्वाचनको बेला नगरबासी समक्ष जनाएको प्रतिबद्धता पूरा गर्न प्राथमिकताका साथ काम गरिरहेको मेयर लामाले बताएकी छन् । उनले नगरभित्र खानेपानी निःशुल्क गर्नेदेखि सफा हेटौंडा अभियान चलाउँदै आएकी छन् । उपमहानगरपालिकाका प्रत्येक घरधुरिलाई १० हजार लिटर खानेपानी निशुल्क वितरणको लागि हेटौंडा खानेपानी बोर्डसँग सम्झौता गरेर कार्यान्वयनमा लगिएको मेयर लामाले बताइन् । उपमहानगरपालिका भित्र बसोबास गर्ने अति विपन्न १ हजार ५ सय ४१ परिवारलाई स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडि बढइएको उनको भनाई छ ।

नगरभित्र ट्राफिक व्यवस्थापनको समस्या हटाउन तीन पांग्रे सवारीसाधहरुमा स्टिकर टाँस गर्ने कार्य सुरु भएको जनाइएको छ । उपमहानगरले हालसम्म ३ सय ३ वटा मयुरी र १ हजार १ सय २२ वटा अटोमा स्टिकर टाँस गरिसकेको छ । साथै, नगरमा ट्राफिक व्यवस्थापनको काम पनि भइरहेको मेयर लामाले बताइन् । उपमहानगरले नेपाल रेडक्रस सोसाईटीसँग सम्झौता गरी चालु आर्थिक वर्ष २०७९÷०८० मा नगरबासीहरुलाई निःशुल्क रक्तसेवा सुरु गरिएको छ । उपमहानगरपालिकाका दुई स्थानहरु हटिया स्वास्थ्य चौकी र पदमपोखरी स्वास्थ्य चौकीहरुलाई स्तर वृद्धि गरी आधारभूत अस्पतालको रुपमा संचालन गरी हाललाई ओपीडी, प्रयोगशाला र स्वास्थ्य बीमाको औषधि वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र बिमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको मेयर लामाले जानकारी दिइन् ।

भूमि व्यवस्थापनको लागि जग्गा वर्गीकरण कार्यदल बनाई सबै वडाहरुमा छलफल भएर वडा समितिको सिफारिस समेतको आधारमा वडागत जग्गा बर्गीकरण प्रतिवेदन प्राप्त भपछि स्थानीय भू–उपयोग परिषद्मा पेश भएको जनाइएको छ । उपमहानगरपालिकाको विकट क्षेत्रमा बसोबास गर्ने स्वास्थ्य सेवाबाट बञ्चित समुदायलाई लक्षित गरी वडा नम्बर १५ को चिप्लेटीमा स्वास्थ्य संस्था संचालन प्रक्रिया अगाडि बढाइएको उपमहानगरले जानकारी दिएको छ ।

टोल विकास संस्थाहरुको अगुवाईमा प्रत्येक शनिवार वडा तथा बस्ति तहमा ‘सफा हेटौंडा अभियान’संचालन सुरु गरी निरन्तर कार्यान्वयन भइरहेको उपमहानगरपालिकाको प्रवक्ता तथा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । सडक विस्तारको क्रममा सडकमा परेका विजुलीको पोल सार्नको लागि वडागत रुपमै तथ्यांक संकलन कार्य सकिएको जनाइएको छ । नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा पोल व्यवस्थापन गर्ने कार्यको प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले बताए । दक्षिण एसियाली शहरहरुको फोरम सिटी नेटको सेप्टेम्बर २० देखि २३ सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने नवौं सभामा सहभागी हुन उपमहानगरपालिकाको प्रतिनिधित्व सुनिश्चित भएको जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १० मा पर्ने कर्रा पुलबाट पश्चिम तर्फको भागमा ग्रिन एण्ड ब्लू कन्सेप्ट मा आधारित पर्यटकीय पार्कसहितको ताल निर्माण गर्नको लागि डीपीआर तर्जुमा प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । उपहानगरपालिकाको अभिभावकत्वमा स्नातक तहको अध्यायनको लागि इञ्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको उनले बताए । बसपार्क क्षेत्रमा सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्न डीपीआर गर्ने कार्य अगाडि बढाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाअन्तर्गत नक्सा पास नगरी वा सार्वजनिक जग्गा÷ सडक अतिक्रमण गरी मापदण्ड विपरित निर्माण गरिएका भौतिक संरचनाहरु हटाउने प्रयोजनको लागि सो सम्बन्धी लगत लिन कार्यदल गठन गरिएको उपमहानगरले जनाएको छ । हेटौंडा बसपार्क क्षेत्रमा रहेको तरकारी बजारलाई सम्बन्धित तरकारी व्यवसायी र हेटौंडा उपमहानगरपालिकाको लागत साझेदारीमा हेटौंडा–१ स्थित राप्ती नदी उकास क्षेत्रमा स्थानान्तरण गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*