हेटौंडा अस्पताल नयाँ भवनबाट सञ्चालन
हेटौंडा-पुरानो अस्पताल भवनबाट सेवा प्रदान गर्न अप्ठेरो भइरहेको बताउँदै आएको हेटौंडा अस्पताल प्रशासनले नयाँ भवनबाट सेवा सुरु गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्रै सरकारी अस्पताल हेटौंडा अस्पताल आजबाट नयाँ भवनबाट सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारको अभावमा गुणस्तरिय सेवा प्रवाहमा समस्या झेल्दै आएको अस्पतालले आइतबारबाट नयाँ भवनबाट पनि सेवा सञ्चालन गरेको हो । अस्पतालको पुरानो भवनको अगाडिपट्टि निर्मित नयाँ भवनमा ईमर्जेन्सीसहितका ७० शैय्या रहेको अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । अस्पतालको क्षमताभन्दा धेरै चाँप हुँदा गुणस्तरिय सेवा प्रभाहमा समस्या हुँदै आएको थियो ।
तर, आइतबारबाट नयाँ भवनमा पनि सेवा सुचारु गरिएपछि सेवा प्रवाहमा सहज भएको उनको भनाई छ । नयाँ भवनमा हाल ईमर्जेन्सी र फार्मेसी मात्रै सञ्चालन गरिएको छ । करिव ३० करोड रुपैयाँमा भवन तयार भएको बताए । अस्पतालको नयाँ भवनमा सेवा विस्तार गर्नका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले डेढ सय कर्मचारी माग गरेको छ । प्रतिष्ठानले आइतबार नै १ सय ४९ जना कर्मचारीहरु माग गरेको हो । सेवा विस्तारका लागि थप जनशक्ति आवश्यक परेकाले १ सय ४९ जना कर्मचारी माग गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।
जनशक्ति अभावको समस्या झेल्दै आएको अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार गरेपछि थप सहज हुने अस्पताल सञ्चालन समितिका सदस्य उत्सव चौलागाईले बताए । हेटौडा अस्पतालको नयाँ भवनबाट सेवा सुचारु गर्न लोक सेवा आयोगबाट पदपुर्ती नभएसम्मको लागि करारमा कर्मचारी माग गरिएको जनाइएको छ । प्रतिष्ठानले सबैभन्दा बढी स्टाफ नर्समा ४५ जना, हाउस अफिसरमा १५ जना, हेल्थ असिस्टेन्ट र डाटा इन्ट्री तथा क्यासियरमा ११–११ जना जना माग गरेको छ ।







