जिल्ला प्रहरी नजिक चोरको आतंक

साझाकुरा
२०७९ भाद्र २०, सोमबार १०:३७

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिकै चोरको आतंक मच्चिएको छ । हेटौंडा–१, स्थित प्रहरी कार्यालयबाट पूर्वतर्फ राप्ति पुलसम्म चोरले आतंक मच्चाएको हो ।
स्थानीय गोपी रावलले चोरका कारण राति राम्रोसँग सुत्नसमेत नपाएको गुनासो गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ‘किलोमिटर गेट’ अगाडि राखिएका सवारीसाधनका ब्याट्रीदेखि गाडिभित्र राखिएको मोबाइल चोरी भएको छ । विगत डेढ महिनाको अवधिभित्र ना ६ ख ६८३१ नम्बरको मालबाहक ट्रकबाट ब्याट्री चोरी भएको स्थानीय रावलले बताएका छन् ।

उनका अनुसार केही दिनअघि प्रदेश–२०–०३–००१ ख ६६०६ नम्बरको टंयाकीबाट चोरले चालकको मोबाइल चोरेका थिए । रावलका अनुसार स्थानीय भिम जोशीको मयुरीबाट करिब ७० हजार मुल्य बराबरको ४ वटा ब्याट्री चोरी भएको छ । मयुरी चलाएर गुजारा टार्ने जोशीले ब्याट्री चोरी भएपछि ऋण गरेर पुनः ब्याट्री किनेर मयुरी चलाएको रावलले बताए ।पटक–पटक घर अगाडि पार्किङ गरी राखेका सवारीसाधनबाट चोरी भइरहेको घटनाले कुनै दिन घर वा पसलका सटरमै चोरी हुने त्रासमा स्थानीयहरु रहेको रावले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकैको चोरी घटनामा संलग्नलाई हालसम्म पक्राउ गर्न सकेको छैन् । रावलले घटना बारे जानकारी गराउँदै दोषिलाई कारबाही गर्न माग गर्दा राप्ति पुल नजिक र प्रहरी कार्यालय अगाडिको दुई वटा सिसि क्यामेरा बिग्रिएको भन्दै प्रहरी पन्छिएको आरोप लगाए । उपमहानगरपालिकाले सिसि क्यामेरा मर्मत नगर्दा स्थानीय त्रासमा परेका छन् ।

साझाकुराले घटना बारे बुझ्न खोज्दा मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका पिएसोले फोन उठाएका थिए । साझाकुराले घटना बारे जवाफ माग्दा पिएसोले भने, ‘डिएसपी साहेक अर्को फोनमा व्यस्त हुनु भएर मलाई फोन उठाउन दिनु भएको हो । उहाँसँग कुरा गर्नु है ।’ तर, डिएसपी कार्कीले रेस्पोन्स गरेनन् । जसकारण चोरीको आतंकबाट स्थानीय त्रसित भएको संवेनशील घटनामा प्रहरी गम्भिर नबनेको देखिन्छ । पीडित रावलले नागरिकलाई सुरक्षा दिने निकायहरु गैरजिम्मेवार ढंगबाट प्रस्तुत हुन नहुने बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*