रोट्रयाक्टको प्रेसिडेन्ट सेक्रेटरी मिटलाई महेन्द्रा प्युरिफायरको साथ
हेटौंडा- हेटौंडामा आयोजना हुने रोट्रयाक्टको अध्यक्ष र सचिवको भेला (प्रेसिडेन्ट सेक्रेटरी मिट) लाई महेन्द्रा प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको छ । रोट्रयाक्ट क्लब अफ हेटौंडा र रोट्रयाक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा भदौ २५ गते हेटौंडामा हुन लागेको कार्यक्रमलाई महेन्द्रा प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको हो । हेटौंडामा हुने रोट्रयाक्टको प्रेसिडेन्ट सेक्रेटरी मिटलाई सफल बनाउनको निम्ति सोमबार महेन्द्रा र रोट्रयाक्टबीच सहमति भएको छ ।
महेन्द्राको तर्फबाट प्रबन्ध निर्देशक पप्पु केशरी र रोट्रयाक्टको तर्फबाट रोट्रयाक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकाल र रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राईले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत् नेपालभर रहेका १७६ वटा क्लबका अध्यक्ष र सचिवसहित क्लबका अन्य सदस्यहरु उपस्थित हुनेछन् ।कार्यक्रमले हेटौंडा र हेटौंडाका पर्यटकीय क्षेत्रहरुलाई देशैभरि चिनाउन मद्दत गर्ने विश्वास लिएको रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राईले बताए ।
कार्यक्रममा कूल लागत करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । कार्यक्रमलाई यति व्रुअरी, सागर डिष्टिलरी, स्मार्ट स्टडीलगायतले प्रायोजन गरेका छन् । त्यसैगरी रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरले पनि कार्यक्रमको लागि आवश्यक साथ र समन्वय गरिरहेको अध्यक्ष राईले बताए ।







