महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरण गर्न कोशेली घर
हेटौंडा- महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोशेली घर सञ्चालनमा आएको छ । महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोशेली घर सञ्चालनमा आएको हो । कोशेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी छन् । जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यामी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोशेली घर सञ्चालन गरिएको जनाइएको छ । कोशेली घरको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख लामाले महिलाहरुलाई दीगो आयआर्जनमा जोड्ने उद्देश्य कोशेली घरको रहेको बताइन् ।
उनले उपमहानगरपालिकाले दिएको तालिमबाटै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उपमहानगरले हरेक वर्ष तालिमबाट तीनसय ८० जना महिलालाई दीगो आयआर्जनमा जोड्ने उनको भनाइ छ ।
उपमहानगरपालिकाले महिलाहरुको आयआर्जनका लागि दिएको विभिन्न तालिमबाट दीक्षित भएका प्रशिक्षार्थीहरुले उत्पादन गरेको सामग्री बिक्री र बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याइएको बताइएको छ । कोशेली घरको व्यवस्थापक जाल्पादेबी महिला उद्यमी केन्द्रका अध्यक्ष गीता मैनालीले अहिले कोशेली घरमा विभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु जोडिएको बताइन् ।उनीहरुले उत्पादन गरेको विभिन्न प्रकारका सामग्रीहरु बजारीकरणका लागि राखिएको उनले जानकारी दिइन् । कोशेली घरमा ढाकाका उत्पादनहरु साडी, कुर्तासुरुवाल, व्याग, जुत्ता, बिवाहमा प्रयोग हुने साइपाटाका सामान, पूजाआजाका लागि प्रयोग हुने दुनाटपरी, धुप बत्ती, ऊनबाट बनेका कपडा, विभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ ।







