एएफयूको १६औँ स्थापना दिवस : वन संकायद्वारा विविध कार्यक्रम

साझाकुरा
२०८३ असार ४, बिहीबार ०८:२९

हेटौंडा–कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को १६औँ स्थापना दिवसको अवसरमा वन संकाय, हेटौंडाले वातावरण संरक्षण, सामाजिक सेवा तथा जैविक विविधता प्रवर्द्धनसँग सम्बन्धित विविध कार्यक्रम सम्पन्न गरेको छ ।

“समुदायसँग कृषि तथा वन विज्ञान विश्वविद्यालय” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमहरूमा विद्यार्थी, प्राध्यापक, कर्मचारी, किसान तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्थापना दिवसको प्रमुख आकर्षणका रूपमा आयोजित ट्र्यास हन्ट प्रतियोगिताअन्तर्गत वन संकाय परिसर तथा पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। सहभागीहरूले ४५ मिनेटमै ५८७ दशमलव ६ किलोग्राम फोहोर संकलन गरी वातावरणीय सरसफाइप्रति युवाको सक्रिय प्रतिबद्धता प्रस्तुत गरेका थिए। संकलित फोहोरको व्यवस्थापन हेटौंडा उपमहानगरपालिकाको समन्वयमा गरिएको जनाइएको छ ।

यसैगरी, वन संकाय परिसरभित्र रहेका विभिन्न वृक्ष प्रजातिको वैज्ञानिक तथा स्थानीय नामसहित पहिचान गराउने उद्देश्यले वृक्ष ट्यागिङ कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा ५८ जना विद्यार्थी तथा स्वयंसेवक सहभागी भएका थिए। उक्त कार्यक्रमले वनस्पति पहिचान, जैविक विविधता संरक्षण तथा वातावरणीय शिक्षालाई व्यवहारिक रूपमा प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

मानवीय सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायका सदस्यहरूले रक्तदान गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए ।

स्थापना दिवसकै अवसरमा वन संकायले काष्ठ उत्पादन प्रदर्शनीसमेत आयोजना गरेको थियो। प्रदर्शनीमा विभिन्न काठका प्रजाति, काष्ठजन्य सामग्री तथा मूल्य अभिवृद्धि गरिएका उत्पादनहरू प्रदर्शन गरिएको थियो। प्रदर्शनीले दिगो वन व्यवस्थापन, काष्ठको वैज्ञानिक उपयोग तथा वन उद्यम विकासबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

किसानहरूलाई लक्षित गर्दै “बर्ड टक तथा चरा संरक्षण सचेतना अन्तरक्रिया” कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा चरा विविधताको महत्व, कृषि तथा वन प्रणालीमा चराहरूको भूमिका, संरक्षणका उपाय तथा मानव–प्रकृति सहअस्तित्वका विषयमा छलफल गरिएको थियो। किसान, वन विज्ञ तथा चरा संरक्षणकर्मीबीच अनुभव आदानप्रदानसमेत भएको थियो ।

कार्यक्रम वन संकायको नेतृत्वमा आईएफएसए–हेटौंडा, फरेष्ट्री युथ नेटवर्क (एफवाइएन), युथ रेडक्रस सर्कल–वन संकाय, एनवाईसीए–हेटौंडा, एम्नेस्टी इन्टरनेशनल एएफयू तथा बर्ड कन्जर्भेसन नेपाल–हेटौंडाको सहकार्यमा सम्पन्न भएको थियो ।

वन संकायका डिन डा. गान्धिव काफ्लेले विश्वविद्यालयको स्थापना दिवसलाई समुदायसँग जोडेर मनाउने परम्पराले विश्वविद्यालय र समाजबीचको सम्बन्ध अझ सुदृढ बनाउने बताए । उनले वातावरण संरक्षण, सामाजिक सेवा तथा जनचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

स्थापना दिवसका अवसरमा सम्पन्न कार्यक्रमहरूले विश्वविद्यालयको शैक्षिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि उजागर गरेको सहभागीहरूले बताएका छन्। समुदायसँगको सहकार्य र सक्रिय सहभागितामार्फत वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्न सकिने सन्देश कार्यक्रमले प्रवाह गरेको आयोजकको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*