मकवानपुरका ४० भन्दा बढी औषधि पसल बन्द गर्न निर्देशन
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसल बन्द गर्न निर्देशन दिएको छ । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलको सञ्चालन प्रमाणपत्र रद्द गरेसँगै जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४० भन्दा बढी त्यस्ता पसल निर्देशन दिइएको हो ।
बुधबार एक सूचना जारी गर्दै कार्यालयले देशभरका ५ हजार ३०२ वटा औषधि पसलको सञ्चालन प्रमाणपत्र (अनुमति) रद्द गरिएको र यो निर्णयअनुसार मकवानपुरका ४० बढी औषधि तथा फार्मेसी पसल दर्ता नवीकरण नरहेकाले बन्द गर्न सूचित गरेको हो । दर्ताखारेज भएका औषधि पसललाई आजैका मितिदेखि आफ्नो कारोबार पूर्णरुपमा बन्द गर्न प्रशासन कार्यालयको निर्देशन रहेको छ ।
औषधि व्यवस्था विभाग, बिजुलीबजारले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै कानुनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्र स्वतः रद्द भएको स्पष्ट पारेको थियो । यही निर्णय कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता खारेज भएका फार्मेसी, भेट (पशु) फर्मा र आयुर्वेद फर्मा बन्द गर्न निर्देशन गरेको प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले जानकारी दिए ।







