हेटौंडा कपडा उद्योग सरसफाइ अभियान सुरु
हेटौंडा-सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवकाअनुसार यसनिम्ति सरकारले तयारी अगाडि बढाएको छ ।प्रतिनिधिसभाको बैठकमा उनले भनेकी छन्, ‘रुग्ण उद्योगमध्ये सबैभन्दा पहिले हेटौंडा कपडा उद्योग सञ्चालनमा आउँछ । कपडा उद्योगका लागि बुटवल धागो र कपासखेती एकैचोटी तीनवटै यसैसाल सञ्चालनमा ल्याउँछौं ।’
आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएकी हुन् । सातवटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको प्रक्रिया अघि बढेको पनि उनले जानकारी दिइन् ।
अर्थ मन्त्रालयमार्फत् भइरहेको अध्ययनका आधारमा उपयुक्त मोडालिटी तयार गरी ती उद्योगलाई सञ्चालनमा ल्याइने उनको भनाइ थियो । मन्त्री यादवले केहीदिन अघि हेटौंडा कपडा उद्योगको खण्डहर संरचना अवलोकन गरेकी थिइन् । बिगतका सरकारले पटकपटक संचालन गर्ने भाषण दिने गरेको भन्दै रुष्ट बनेका स्थानीय फेरिपनि अलमलमा परेका छन् । पटकपटक लिक्वीडेसनमा गएको कपडा उद्योगका बारेमा धेरै पटक अध्ययन भएको र त्यसका प्रतिबेदन तत्कालीन सरकारले दराजमा थन्क्याएर राखेको छ ।
मन्त्री यादवकाअनुसार सरकारले पेट्रोलियमपदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको ३ महिनाका लागि पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य छ । यसै सिलसिलामा सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माणकार्य अघि बढेको तथा सर्लाहीमा भण्डारण स्थल निर्माणका लागि जग्गा व्यवस्थापन र प्राविधिक कार्य भइरहेको छ । औद्योगिक पूर्वाधार विकासतर्फ कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति र प्लट व्यवस्थापनको काम भइरहेको तथा शक्तिखोर र मोतीपुर औद्योगिक क्षेत्रको निर्माणलाई तीव्रता दिइने मन्त्री कुमारीले बताइन् ।
सुर्खेतमा सिमेन्ट उद्योगका लागि पहुँच सडक निर्माण र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । खनिज अन्वेषणका सन्दर्भमा दैलेखमा भइरहेको पेट्रोलियम परियोजनाको ड्रिलिङ कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त हुने चरणमा रहेको र चोखालगायत क्षेत्रमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन गरिने मन्त्रीले उल्लेख गरिन् । चिया र अलैँची जस्ता कृषि उपजको भण्डारणका लागि निजीक्षेत्रसँगको साझेदारीमा वेयर हाउस निर्माण गर्ने र साना तथा मझौला उद्योगका लागि सहुलियतपूर्ण विद्युत् महसुल निर्धारण गर्न पहल भइरहेको उनले जानकारी दिइन् ।
हेटौंडा कपडा उद्योग सरसफाइ अभियान सुरु
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा–८ स्थित हेटौंडा कपडा उद्योग परिसरमा सरसफाइ अभियान सुरु गरिएको छ । बुधबारदेखि सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी तथा हेटौंडा उपमहानगरका कर्मचारीको सहभागितामा उद्योग परिसर सरसफाइ कार्य थालिएको हो । कपडा उद्योग परिसर वरपर झाडी फाड्ने, घाँस सफा गर्ने लगायत कार्य गरिएको हो ।
सरसफाइ अभियान पूर्णरुपमा सम्पन्न नभएसम्म निरन्तर सञ्चालन गरिने जनाइएको छ । मंगलबार हेटौंडा उपमहानगरप्रमुख मीनाकुमार लामाले उद्योग परिसरको अवलोकन गरेकी थिइन् । उद्योग सञ्चालनको विषयमा संघीयस्तरबाट समेत चासो देखाइएको छ । उपमहानगरप्रमुख लामाकाअनुसार कपडा उद्योग पुनः सञ्चालनको सम्भावनाबारे प्रधानमन्त्रीको सचिवालयबाट समेत टेलिफोन सम्पर्क गरी जानकारी तथा चासो व्यक्त गरिएको थियो ।
हेटौंडा कपडा उद्योग नेपालको औद्योगिक इतिहासमा महत्वपूर्ण सरकारी स्वामित्वको उद्योगकारुपमा परिचित छ । स्वदेशी कपडा उत्पादन गर्दै आएको उद्योग आर्थिक, व्यवस्थापकीय तथा प्राविधिक समस्याका कारण २०५६ देखि बन्द भएको थियो । उद्योग बन्द भएपछि यसका भौतिक संरचना तथाउपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन् । हेटौंडा कपडा उद्योग संचालनमा रहेको समयमा हेटौंडा बजारमा आर्थिक कारोवारमा पनि प्रभाव पार्ने गरेको थियो ।







