टिसिएनको जग्गा लिजमा लिने उपमहानगरको निर्णय
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले १० नम्बर वडास्थित नेपाल वन निगमको नाममा रहेको टिसिएनको जग्गा लिजमा लिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले टिसिएन क्षेत्रको ४ विगाहा १६ कठ्ठा ११ धुर जग्गा लिजमा लिने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । हेटौंडाको मेयरमा निर्वाचित भएपछि नगरबासी समक्ष वाचा गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेकी मिनाकुमारी लामाले थुप्रै योजनाहरु अगाडि बढाएकी छन् । महिलालाई प्राथमिकता दिएर प्रसुति अस्पताल निर्माणको गृहकार्य गरिरहेकी लामाले जग्गा अभाव भइरहेको बताउँदै आएकी थिइन् । टिसिएसनको जग्गामा अस्पताल निर्माण गर्ने गरी निर्णय नभएपनि लामाले उक्त जग्गा लिजमा लिएर दुरगामी प्रभाव पार्ने योजना निर्माणको योजना बनाएकी छन् ।
यसअघि टिसिएसन क्षेत्रमा प्रसुति अस्पताल निर्माण गर्न सकिने सम्भावना बारे छलफलसमेत भएको थियो । तर, अस्पताल भवनबाटै प्रसुति अस्पताल चलाउन सकिने बारेपनि छलफल भएको थियो । यसैगरी, कार्यपालिका बैठकले फोहोरमैला व्यावस्थापन सम्वन्धी कार्यसूची स्वीकृति तथा साझेदार संस्था छनौटका लागि सूचना प्रकासन गर्ने निर्णय गरेको छ । हाल फोहोमैलाको क्षेत्रमा काम गरिरहेको साझेदार संस्थाको म्याद सकिन लागेको र यसका लागि फेरि प्रतिस्पर्धामार्फत छनौट गर्न लागिएको हो । बालमैत्री स्थानीय शासन सम्बन्धि नजितामुखी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए ।
बैठकले कर्मचारीहरुको तह वृद्धि गर्ने, सेवा परिवर्तन गरेका कर्मचारीको सेवा परिवर्तन बदर गर्ने, टोल विकास संस्था गठन परिचालन कार्यविधि कानून मस्यौदा समितिमा पठाउने, अतिरिक्त सेवा सुविधा सम्बन्धि कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–६, ७, ८, १५, १६, १७ र १८ हुँदै बग्ने खहरे खोलाहरुबाट नजिदन्य पदार्थहरु दिगो रुपमा उत्खनन् र संकलनका लागि तयार भएको प्रारम्मिक वातावरणीय परिक्षण प्रतिवेदन २०७९ को प्राविधिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पेस गर्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । गत आव २०७८–०७९ मा कार्यान्वयन भएका तीन वटा प्रारम्मिक वातावरणीय परिक्षण प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने निर्णय भएको छ ।
उपमहानगरपालिकाको स्वामित्व तथा संरक्षणमा रहेको पूर्वाधार सम्पत्ति, वडा कार्यालयहरु, भवन, पार्क, सडकहरुको लेखाजोखा तथा अभिलेखिकरण गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको छ । बैठले जिल्ला प्रहरी कार्यालय मकवानपुरका सिनियर प्रहरी अधिकृतको आवास गृह निर्माण गर्नका लागि रकम सहयोग गर्ने निर्णय गरेको छ । सिनियर प्रहरी अधिकृतको आवासगृह जीर्ण भएकाले निर्माण गर्नका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।







