कैलाश गाउँपालिकाको सय दिनः स्वास्थ्य र कृषि प्राथमिकतामा
हेटौंडा- मकवानपुरको विकट कैलाश गाउँपालिकाले पनि आफ्नो एकसय दिनको कार्य प्रगति विवरण सार्वजिनक गरेको छ । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका पछि कैलाश गाउँपालिकाले पनि आफूले एकसय दिनमा गरेको कार्य प्रगतिको विवरण सार्वजनिक गरेको हो । गएको बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाच अन्तर्गत निर्वाचित भएर पदभार ग्रहण गरेपछिको एकसय दिनमा भएको कामलाई गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सार्वजनिक गरेका छन् । अध्यक्ष मुक्तानले एकसय दिनको अवधिमा पालिकाले ५ सय घरपरिवारको स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।
गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने सम्पूर्ण महिलाहरूलाई नेपाल सरकारले नियमानुसार दिने सुविधाको अतिरिक्त थप २ हजार रूपैंया पोषण भत्ता व्यवस्था गरिएको छ । हरेक वडाबाट २ जनाका दरले २० जना विद्यार्थीलाई कृषि÷पशु जेटीए पढाउन सुरु गरिएको छ । यसैगरी जटिल खालका प्रसब व्यथा लागेका महिलाहरूलाई सम्बन्धित अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । वडा नम्बर ९ र १० मा दुग्ध चिस्यान केन्द्र स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ । गाउँपालिका वडा कार्यालयहरु र सम्पूर्ण स्वास्थ्य चौकीहरुमा ईन्टरनेटको व्यवस्था गर्नको लागि नेपाल दुरसञ्चार संस्थानसँग द्धन् संचालनको लागि पहल भैरहेको, न्यून वेतनमा काम गरिरहेका कर्मचारीलाई न्यायोचित तलव सुविधाको व्यवस्था गरिएको साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक ३ सय रूपैंया थप व्यवस्था गरिएको छ।
पूर्वाधारतर्फ गाउँपालिकादेखि किर्तिमान डाँडासम्मको १ किमि वाटोलाई चौडा गरि ग्राभेल गरिएको छ । २ सय २५ घरधुरीलाई खर मुक्त छाना अभियानको सुभारम्भ गरिएको छ । पालिकाको महत्वपूर्ण सडकहरूमा पक्की पुलको निर्माणको थालनि गरिएको छ ।यसैगरी ४ वटा पक्की पुल निर्माण गर्नको लागि डीपिआर तयार गरी सम्बन्धित मन्त्रालयमा कुरा भैरहेको र ४ वटा झोलुड्डे पुलको बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष मुक्तानले यति छोटो समयमा पालिकाले प्राप्त गरेको सफलतामा खुसि व्यक्त गरे । निर्वाचित भएर आउँदा आर्थिक बर्ष सकिनै लागेको र नयाँ आर्थिक बर्ष पनि यहि अवधिमा सुरू भई नयाँ कार्यक्रमहरू सुरु गर्न खोजिरहेको अवस्थामा पालिका बाट भएका कामहरू हेर्दा आगामी दिनहरूमा अझ राम्रो गरि काम गर्न प्रेरणा मिलेको उनले बताए ।
यसैगरी पालिकाबाट सरूवा भएका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईको विदाई गरिएको छ भने पालिकामा आउनुभएका नयाँ प्रशासकीय अधिकृत अशोक बिष्टलाई स्वागत गरिएको छ ।चौलागाई १४ महिनादेखि कैलाश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए भने बिष्ट पञ्चकन्या गाउँपालिका नुवाकोटबाट सरुवाभई आएका हुन् । शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोक बहादुर मुक्तानले १०० दिनको अवधिमा भएका प्रगति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी, वडाध्यक्षहरू राजेन्द्र घिसिङ, भुवनसिं घलानलगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।







