चेपाङ संघको अध्यक्षमा गोविन्दराम
हेटौंडा- नेपाल चेपाङ संघको अध्यक्षमा मकवानपुरका गोविन्दराम चेपाङ निर्वाचित भएका छन् । बिहिबार चितवको भरतपुरमा सम्पन्न निर्वाचनबाट मकवानपुरका चेपाङ संघको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी चितवनकी सुनिमाया चेपाङले ९२ मत प्राप्त गरिन् ।गत चैत ३ गते भरतपुरमा संघको पाँचौँ महाधिवेशनको उद्घाटन भएपनि निर्वाचन भने अहिले भएको हो । संघको वरिष्ठ वरिष्ट उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ चयन भएका छन् ।
त्यसैगरी दुई जना सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ चयन भएका छन् ।महाधिवेशनले ३० सदस्यीय कार्यसमिति चयन गरेको हो । पाँचजना सदस्य मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष चेपाङले बताए । संविधानसभाका सदस्यसमेत भइसकेका उनी ६३ सालमा सम्पन्न तेस्रो अधिवेशनबाट पनि केन्द्रीय अध्यक्षमा चयन भएका थिए ।चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा चेपाङहरूको मुख्य बसोबास छ । ६८ सालको जनगणनाले चेपाङको जनसंख्या देशभर ६८ हजार रहेको देखाए पनि खासमा देशभर एक लाखको हाराहारीमा चेपाङहरू रहेको उनको भनाइ छ ।







