किँरात देवास राई उत्थान समाजको राष्ट्रिय सम्मेलन हेटौंडामा
हेटौंडा- किँरात देवास राई उत्थान समाजको पाँचौ राष्ट्रिय सम्मेलन हेटौंडामा सुरु भएको छ । समाजको पाँचौ राष्ट्रिय सम्मेलन शनिबारबाट हेटौंडामा सुरु भएको हो । आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गरौं, जातिय उत्थानमा सहभागी बनौं भन्ने नाराका साथ पाँचौ राष्ट्रिय सम्मेलन भइरहेको छ । दुईदिन चल्ने राष्ट्रिय सम्मेलनको बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले संविधानले समावेशिता, समानता एवम् मौलिक अधिकारलाई सुरक्षित गरेको भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले आदिवासी, जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक समुदायको हितका लागि तीनै तहका सरकारले विशेष योजना ल्याई कार्यान्वयनको चरणमा लैजानुपर्ने औंल्याए ।
राज्यमन्त्री प्रजाले यथास्थितिबादीहरुको भेदभावपूर्ण व्यवहारका कारण आज पनि समानताको उद्देश्य पूर्णरुपमा पूरा नभएको बताए । विभिन्न जातजातिको लागि भाषा, भेषभूसा, कला तथा संस्कृति ठूलो सम्पती भएको उल्लेख गर्दैै उनले त्यसको संरक्षण र संस्थागत गरिनुपर्ने बताए ।बागमती प्रदेश सरकारले भाषा आयोग गठन गरिसकेको बताउँदै उनले भाषा तथा लिपीको विकास गरिनेसमेत बताए ।देशभरका विभिन्न जिल्लामा बसोबास गर्ने देवास राईहरुको कार्यक्रममा सहभागिता रहेको छ । किँरात देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिब जनक राई, केन्द्रीय सल्लाहकार प्रेम राई, किँरात देवास राई उत्थान समाजका मकवानपुर अध्यक्ष कृष्ण बहादुर राईलगायतको आतिथ्यता रहेका थिए ।







