‘डोजरले पहाड भत्काउने मात्रै विकास हैन’
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विकास भनेको डोजरले पहाड भत्काउनु मात्रै नभएको बताएका छन् ।हेटौंडामा सोमबार युएनडीपीले प्रकाशित गरेको ‘मानव विकास प्रतिवेदन अनिश्चित समय, अस्थिर जीवनः परिवर्तन विश्वमा हाम्रो भविश्य’ बारेको प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नागरिकको अवस्था फेर्नु नै विकास भएको बताए ।विकास भनेको डोजरले पहाड भत्काउने मात्र बुझ्न नहुने बताए । सबै नागरिकलाई हातमुख जोहोको व्यावस्था गर्नु, रोजगारीको सृजना गर्नुपनि विकास हो भन्ने कुरा सबैले सिक्नुपर्ने उनको भनाइ छ । आर्थिक रुपमा कमजोर राष्ट्र रहेकाले नै नेपालमा अरुका नीति नियम लागू हुने र थिचोमिचो रहने बताए ।
नेपालका हरेक काममा विदेशीको मुख ताक्नुपर्ने अवस्था रहेको मुख्यमन्त्री पाण्डेले दुःखेसो पोखे । विदेशी कम्पनीसँग मिलेर मल कारखाना खोल्न प्रदेश सरकार लागिपरेको पाण्डेले बताएका छन् । प्रदेश सरकारले किसानका लागि हरेक हिसावले प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा युएनडीपीले ‘मानव विकास प्रतिवेदन अनिश्चित समय, अस्थिर जीवनः परिवर्तन विश्वमा हाम्रो भविश्य’ प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णराज पन्त, प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डे, मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, मकवानपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, महिलावादी दलित संगठन मकवानपुरका मञ्जु रोक्कालगायतकाले आफ्ना धारणा राखेका थिए ।







