हेटौंडा–१ मा उद्यमशिलता तालिम सुरु
हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा रहेका महिलाहरुलाई नेतृत्व एवम् क्षमता विकास र उद्यम विकाससम्बन्धी पाँच दिने तालिम तथा सचेतना कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नगरस्तरीय महिला जागरण समूहको संयोजनमा भएको तालिम उद्घाटन गर्दै वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले महिलाहरुले धेरै खालको तालिमहरुमा सहभागी हुने तर व्यवहारमा नउतार्दा सरकारी लगानी खेर गइरहेको बताए ।
‘महिलाहरु तालिम लिने भनेपछि तँछाड मछाड गर्छन् तर, तालिममा सिकेको सीप आयआर्जनमा लगाउँदैनन्’, अध्यक्ष न्यौपानेले सिकेको सीपलाई व्यवहारमा
उतारेदेखि धेरै महिलाहरु स्वरोजगार हुन सक्ने बताए ।स्थानीय सरकारले महिलाहरुको क्षेत्रमा धेरै लगानी गरेपनि त्यसको उचित सदुपयोग हुन नसकेकोमा गुनासो पोख्दै अध्यक्ष न्यौपानेले अब लिने तालिमलाई जीवन परिवर्तनको कडिको रुपमा लिन आग्रह गरे ।
नगरस्तरीय महिला जागरण समूहका सदस्य तारा ढुंगानाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर कार्यपालिका सदस्य ईश्वरी रसाईली, पूर्व वडा सदस्य सोमलाल स्याङ्तान, टोल विकास वडा समन्वय समिति संयोजक रुपा ढुंगाना, स्वावलम्बी टोल विकास संस्थाका अध्यक्ष जुना मल्ल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कार्यालयका प्रमुख लक्ष्मण भट्टराई, सहभागी सरस्वती श्रेष्ठ, लक्ष्मी आचार्यलगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए ।







