वन विज्ञान संकायको आफ्नै भवन
हेटौंडा-स्वामित्व विवादका कारण यसअघि पटक–पटक लफडामा फस्दै आएको वन विज्ञान संकायले आफ्नै भवन निर्माण गरी सेवा सुचारु गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान संकायले १० करोड १३ लाख ११ हजार रुपैयाँ लागतमा ५ तले शैक्षिक भवन तयार पारेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत् हेटौंडास्थित वन विज्ञान संकायको शैक्षिक भवनबाट पठनपाठनको काम सुरु भएको छ । शैक्षिक भवनमा २० वटा कोठा छन् । वन संकायका डीन डा. बलराम भट्टले अब वन संकायको प्रशासनिक भवन र प्राध्यापक, कर्मचारी आवास भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । यसअघि एउटै भवनमा कोठाहरु बाँडेर, एउटा कोठामा पनि बारेर पढाउँदै आएको भट्टले बताए ।
वन विज्ञान संकाय र त्रिवि वन विज्ञान अध्ययन संस्थानबीच लामो समयदेखि स्वामित्व विवाद थियो । उक्त स्वामित्व विवाद सर्वोच्च अदालतमा विचराधीन छ । विवादकै कारण यसअघि क्याम्पसमा ताला लाग्नेदेखि झैझगडासमेत हुँदै आएको थियो । पुरानो भवनलाई दुबै निकायले आफ्नो दाबी गरेपछि विवाद चुलिँदै गएको थियो । हाल सर्वोच्चमा विचराधीन मुद्दाकै अवस्थामा नयाँ भवनबाट सेवा सुरु गरिएको डीन भट्टले बताए ।वन विज्ञान संकायले विगतमा प्रयोग गर्दै आएको मुख्य भवन र शैक्षिक भवन त्रिवि वन विज्ञान अध्ययन संस्थानलाई हस्तान्तरण गरेको छ । मंगलबार संस्थानलाई साँचो बुझाउने भनिए पनि संस्थानका प्रतिनिधि उपस्थित नभएको बुझिएको छ ।







