१९ नम्बर वडाबासीले चुन र लेउ मिसिएको पानी कहिलेसम्म पिउने ?
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१९, बागमती प्रदेशको राजधानी भएको उपमहानगरको वडा । जहाँका बासिन्दा खानेपानीकै लागि अझैसम्म सास्ती खेपिरहेका छन् । देश संघीयतामा गएपछि हेटौंडाले देशको राजधानीको पनि राजधानी हुने मौका पायो । उपमहानगरको टोल–टोलमा सिंहदरवार आइपुग्यो । तर, १९ नम्बर वडाबासीको घरमा अझै खानेपानी पुगेको छैन । प्रदेशको राजधानी हेटौंडा बजारबाट पश्चिमतर्फ करिब १७ किलोमिटरको दूरि पार गरेपछि बस्तिपुर आइपुग्छ । बस्तिपुरबाट थप एक किलोमिटरभित्र छिरेपछि हेटौंडा–१९ को बासुदेव भन्ने स्थान पुग्न सकिन्छ । बासुदेवका बासिन्दा वर्षौदेखि चुन र लेउ मिसिएको पानी पिउँदै आएका छन् । खानेपानीको अन्य विकल्प नहुँदा उनीहरु कुवाँको चुन मिसिएको पानी पिउन बाध्य छन् । बुधबार मध्यान्हमा बासुदेव पुग्दा स्थानीय कविता पहेली कुलोमा लुगा धुँदै थिइन् । उनलाई लुगा धुन उनको छोराछोरी सघाउँदै थिए । ०७२ सालमा विहे गरेर उक्त वडामा पुगेकी उनलाई सुरुमा त्यहाँको पानी खानै मन लागेको थिएन । चुन र लेउ मिसिएको नुनिलो पानी नखाई उनीसँग अरु विकल्प पनि थिएन ।
‘विहे गरेर आएदेखि अहिलेसम्म हेटौंडाको धेरै ठाउँमा धेरै विकास भएको कुरा सुनियो । तर, खोई हामीले अहिलेसम्म शुद्व र सफा पानी पिउन पाएको होइन’, उनले भनिन् । हिउँदमा जेनतेन डाँडामा रहेको कुँवाबाट तानिएको पानी घरसम्म आइपुग्छ । चुन भएको नुनिलो दुषित पानी भएपनि उनीहरु खान्छन् । तर, वर्षामा पानीको भेल पसेपछि पानी खान लायकको हँुदैन । त्यसैले वर्षायाममा हिँँडेर पानी लिन उकालो लाग्नु पर्ने बाध्यता रहेको पहेली सुनाउँछिन् । चुन मिसिएको दुषित पानी पिउनाले गाउँको धेरै जनामा टिभि, पत्थरी तथा झाडापखालाको समस्यासमेत देखिएको उनको बुझाई छ । ‘पानीजस्तो कुरा नखाउ भनेपनि भएन । यस्तो फोहोर पानी खाँदा बिरामी भइन्छ रे । गाउँको कति जनामा त टिभि, पत्थरी र बच्चाहरुलाई झाडापखाला पनि लागेको छ’, उनले भनिन् ।
पहेलीले सहजरुपमा आफूहरुलाई स्वस्थ र सफा पानी खुवाउन वडाले कुनै चाँसो नदेखाएको गुनासो गरिन् । हिरामाया प्रजा र बीरबहादुर ब्लोनको पनि उही दुखेसो छ । कुवाँ, कुलो र खोल्चाको पानी प्रशोधन नगरी खाँदा रोग लागेको उनीहरुको बुझाई छ । गाउँमा आफूहरुलाई अरु विकासभन्दा पहिला सफा पानी चाहिएको उनीहरुको भनाइ छ । हिउँदमा कुँवा र खोल्चिको पानी आउने भएपनि लेउ र चुन मिसिएको पानी खानुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । १९ नम्वर वडाकै अझै भित्रि भागका बासिन्दा खानेपानी लिन घण्टौं हिड्नुपर्ने बाध्यतामा छन् । उक्त वडाको डुमारे, लेकपानी, कालिटार र भालुखोलाका बासिन्दाहरु खानेपानी लिन दैनिक घण्टौंसम्म हिड्ने गरेका हुन् । हेटौंडा बजारबाट करिब १८ किलोमिटरको मात्रै दूरि पार गरेपछि बासुदेव आइपुग्छ ।
बासुदेवबाटै सुरु भएको खानेपानी अभावको समस्या त्यहाँबाट जति माथि पुग्यो त्यति विकराल अवस्थामा भेटिन्छ । हेटौंडा प्रदेशको राजधानी भएपछि धेरै कुरा परिवर्तन भयो ।
देश संघीयतामा गएपछि पहिलोपटक प्रदेश सरकार आएपछि थुप्रै कुरामा परिवर्तन आए । तर, हेटौंडा–१९ का बासिन्दाको दुखःमा परिवर्तन आएन । उनीहरु अझैपनि पिउने पानीको लागि संघर्ष गरिरहेका छन् । प्रदेश सरकारले एक घर एक धाराको अभियान सञ्चालन गरिरहेको छ भने हेटौंडा उपमहानगरपालिकाले पनि उपमहानगर क्षेत्रमा निःशुल्क खानेपानी वितरण सुरु गरिसकेको छ । तर, पनि प्रदेशको खानेपानी मन्त्रालय र उपमहानगरको कार्यालयबाट केहि समयको दूरिमा नै रहेको उक्त गाउँको बासिन्दाले अझैपनि पिउने पानीको लागि सास्ती खेप्न परिरहेको छ ।
हेटौंडा उपमहागरपालिका–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेशको राजधानीबाट नजिकै भएपनि आफ्नो वडाका बासिन्दाहरु पिउने पानीको लागि छट्पटिनु परेको बताए । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको चाँसोमा नपर्दा प्रदेशको राजधानीबासी खानेपानीबाटै बञ्चित हुनुपरेको उनको गुनासो छ । सुवेदीले चुन मिसिएको पानी खानुपर्ने बाध्यता रहेको बासुदेवको समस्या यो वर्ष समाधान हुने बताए । उनले उक्त समस्या समाधान गर्न धेरै संघ सस्ंथा लागेपनि चुनको समस्या समाधान गर्न नसकेको बताए । त्यसैले वडाले चालू आर्थिक वर्षमा बासुदेवको बासिन्दालाई शुद्व र सफा पानी खुवाउनको लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ । उनले पाँच लाख रुपैयाँले त्यहाँको चुनको समस्या समाधान नभएर अरु बजेटको व्यवस्था गरेर भएपनि समस्या समाधान गरिने दावी गरे ।
तर, वडाको डुमारे, लेकपानी, कालिटार र भालुखोलामा पानी पु¥याउन भने वडाको मात्रै एकल प्रयासले सम्भव नहुने उनको भनाइ छ । उक्त स्थानमा लिफ्ट सिचांईबाट खानेपानी लैजाने योजना प्रदेश सरकारले बनाएको भएपनि आवश्यक बजेट विनियोजन नगर्दा योजना नै अलपत्र परेको उनले बताए । उनले भने ‘प्रदेश सरकारले खानेपानीको समस्या समाधान गर्न लिफ्ट सिचांईको योजना ल्याएको ५ वर्ष भयो । करिब १२ करोड रुपैयाँ लाग्ने योजनाको लागि सरकारले वर्षेनि २० लाखको हाराहारीमा बजेट दिन्छ । यसरी कहिलेसम्म सिंचाई बनिसक्छ ?’, उनले भने । सुवेदीले हेटौंडा उपमहानगरपालिकाले पनि पानी पुगेको स्थानमा निःशुल्क खानेपानी वितरण गरेको भन्दै पानी नै नपुगेको स्थानलाई बेवास्ता गरेको बताए । ‘जहाँ पानी पुगिसकेको छ, त्यहाँ चाँहि १० हजार लिटर खानेपानी निःशुल्क रे । अनि अहिलेसम्म पानी नै नपुगेको ठाउँमा चाँहि चाँसो नै छैन ?’, सुवेदीले प्रश्न गरे ।







