डेंगु रोक्न उपमहानगरको ‘स्प्रे’ अभियान
हेटौंडा- लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले स्प्रे अभियानलाई निरन्तरता दिएको छ । उपमहानगरमा दैनिक डेंगु रोगको संक्रमण दर बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न उपमहानगरले स्प्रे अभियानलाई निरन्तरता दिएको हो । नेपारभरि नै तिव्र गतिमा फैलिरहेको डेंगुले हेटौंडामा पनि महामारीको रुप लिइसकेको अवस्था छ । डेंगु रोगको संक्रमण बढेसँगै त्यसलाई नियन्त्रण गर्न उपमहानगरले तदारुकता देखाएको छ । करिब दुई हप्तादेखी नै उपमहानगरलाई डेंगुको संक्रमण नियन्त्रणको लागि सरोकारवालाहरु– सँगको समन्वयमा उपमहानगरको विभिन्न वडामा पुगेर लामखुट्टे नष्ट गर्ने स्पे्र अभियान सञ्चालन गर्दै आएको छ । अहिले सम्म १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएको छ ।
रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरिरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना छन् । मकवानपुरगढी गाउँपालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउँपालिकाका १ र मनहरी गाउँपालिकाका ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार थपिएका १ सय २४ सँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १ हजार ३ सय ३१ पुगेको छ । जसमध्ये ५ सय ५७ महिला छन् । पछिल्ला दिनहरुमा तीव्ररुपमा डेंगु संक्रमित बढेका छन् ।
हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो । संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ ।
बिहीबार मकवानपुरमा ९८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९४ जना रहेका छन् ।यस्तै मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका समान एक–एक जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार जिल्लाको एकसय २४ जनामा डेंगु पुष्टि भएको थियो । बुधबार हेटौँडाका एक सय १४ जनामा संक्रमण देखिँदा थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ३ जना, मकवानपुरगढी र भीमफेदीमा १÷१ जना संक्रमित भएका थिए । मकवानपुरमा मंगलबार मात्रै ९५ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको कुल संख्या एक हजार ४ सय २९ जना पुगेको छ । हालसम्म डेंगु संक्रमणबाट एकजनाको ज्यान गएको छ ।







