बालजागृतिको विद्यार्थीहरुले गरे विज्ञान सामाग्री प्रदर्शन

साझाकुरा
२०७९ आश्विन १, शनिबार १३:५८

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–२ स्थित बालजागृति इङ्लिस सेकेण्डरी स्कुलको विद्यार्थीहरुले विज्ञान सामाग्री प्रदर्शन गरेका छन् ।राष्ट्रिय विज्ञान दिवसको अवसरमा विद्यार्थीहरुले विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नती र समृद्वीको आधार भन्ने राष्ट्रिय नाराको साथमा विवत्रान शैक्षिक सामाग्री प्रदर्शनी गरेका हुन् । विद्यालयको कक्षा १ देखी १० सम्म अध्ययनरत करिव ४ सय ५० विद्यार्थीले आफूले तयार गरेको विज्ञानसम्बन्धी सामाग्रीहरुलाई प्रदर्शनमा राखेका थिए । विद्यालयको हल, कक्षा कोठा लगायतका स्थानमा गरेर ८० वटा सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

विद्यार्थीलाई समूहमा बसेर काम गर्ने क्षमताको विकास गर्न, खोज अनुसन्धान गर्न, अभिवृिद्ध कलाको विकास गर्ने जस्ता उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानध्यापक विनोद सुवेदीले बताए । उनले विद्यार्थीहरुलाई सिर्जनशील बनाउनको लागि विद्यालयले आफ्नै खर्चमा विद्यार्थीहरुलाई विज्ञानसँग सम्बन्धित सामाग्री बनाउन लगाएको बताए । सुवेदीले विद्यार्थीहरुले तयार पारेको शैक्षिक सामाग्रीको लागि विद्यालयले करिब एक लाख रुपैयाँ खर्च गरेको समेत बताए । प्रदर्शनीमा विद्यार्थीहरुले स्मार्ट सिटी, हाइड्रोलिक, स्मार्ट डस्विन, फोक्सोको मोडल लगायतका विषयमा सामाग्री तयार पारेर प्रदर्शन गरेका थिए ।

विद्यार्थीले प्रदर्शनीमा पुगेका आफ्ना अभिभावक, शिक्षक तथा अन्य दर्शकहरुलाई आफूले तयार पारेको सामाग्रीको विषयमा जानकारी समेत गराएका थिए ।
बालजागृतिले अन्य समयमा पनि आफ्नो विद्यालयको बालबालिकाहरुलाई पठनपाठनसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउदै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*