ग्रामीण महिला सेवा केन्द्रमा नयाँ नेतृत्व

साझाकुरा
२०७९ आश्विन ४, मंगलवार ०९:४६

हेटौंडा- सहकारीको माध्यमबाट महिलाहरुको क्षमतासँगै नेतृत्व विकासमा विगत दुई दशकदेखि काम गर्दै आइरहेको ग्रामीण महिला सेवा केन्द्रको २१ औं साधारणसभा भएको छ ।हेटौंडास्थित केन्द्रमा संस्थाले २१ औं साधारणसभा र ९ औं अधिवेशन गरेको हो । अधिवेशनबाट सुलोचना स्याङतान संस्थाको अध्यक्षमा निर्विरोध चयन भएकी छन् । यसअघि कोषाध्यक्ष रहेकी स्याङ्तानको नेतृत्वमा अधिवेशनले ९ सदस्यीय कार्य समिति सर्वसम्मतीमा चयन गरेको हो । उपाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएकी छन् । उनी संस्थाकी पूर्वअध्यक्ष हुन् । संस्थाको सचिवमा अचला शर्मा र कोषाध्यक्षमा देवकी चौलागाई चयन भएकी छन् । सदस्यहरुमा सिता घलान, लक्ष्मी माया थिङ, सरिता सापकोटा, पञ्चमाया स्याङ्तान र एलिजा पुडासैनी चयन भएको संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिए । लेखा समिति संयोजकमा मेनुकाकुमारी न्यौपाने चयन भइन् ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा कार्यक्रम गरिएको हो । अध्यक्ष कार्कीले संस्थागत प्रतिवेदन, सचिव अचल शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुलोचना स्याङ्तानले आयव्यय प्रतिवेदन साधारणसभामा प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख घलानले महिलाहरुले नेतृत्व गरेको संस्था भनेर नूमनाका रुपमा ग्रामिण महिला विकास केन्द्रलाई देखाउन सकिने बताए । महिलाहरुले चलाएको संस्था संधै सफल भएको भन्दै ग्रामीण महिला सेवा केन्द्रले महिलाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा ठूलो योगदान पु¥याएको उनले बताए । ‘महिलाहरुले चलाएको संस्था संधै सफल हुँदो रहेछ । पुरुषहरु राजनीतिमा मात्रै मरिहत्ते गर्दा रहेछन् । महिलाहरुलाई ३३ प्रतिशत मात्रै दिँदा रहेछन्,’ घलानले भने ।

गैरसरकारी संस्थाहरुकै कारण मुलुकमा सामाजिक रुपान्तरण भएको उनको भनाइ थियो । स्थानीय सरकारले गैरसरकारी निकायहरुसँग समन्वय नगरेको गुनासोपछि घलानले भने, ‘सत्ता बाहिर बिद्रोही हुँदा रहेछन् । यस्तो गर्न पर्छ भनेर भन्छन् तर, त्यही मान्छे सत्तामा पुगेपछि दमन गर्दो रहेछ,’ ग्रामीण महिला सेवा केन्द्रकी संस्थापक अध्यक्ष तथा जिससकी निवर्तमान उपप्रमुख भगवति पुडासैनीले महिलाहरुले सञ्चालन गरेको संस्थालाई कार्य सञ्चालनमा अप्ठेरो पर्ने गरेको गुनासो गरिन् । उनले साँझमा जलपान गर्नेहरुले मात्रै ‘सेटिङ’ मिलाएर कार्यक्रम गरेको भन्दै महिलाहरुले चलाएको संस्थालाई आश्वास मात्रै दिने गरेको बताइन् । ‘बेलुका बोलाएर खुवाउन पर्ने रहेछ । हामी महिलाहरुलाई गाह्रो हुँदो रहेछ । आइएनजीओहरु कति राम्रो संस्था ? तपाईहरुलाई कार्यक्रम दिन्छौं भन्छन् तर, कार्यक्रम अन्तै दिन्छन्,’ उनले भनिन् । राजनीति पनि त्यस्तै भएको भन्दै पुडासैनीले बेलुका जलपान गर्नेहरुले नै पद र प्रतिष्ठामा अबसर पाइरहेको कटाक्ष गरिन् ।

पुडासैनीले स्थानीय सरकार र ग्रामीण महिला सेवा केन्द्र एउटा रथको दुई पांग्रा भएर हिँड्न चाहेको बताइन् । केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा सरकारलाई नै सहयोग गरेर अघि बढ्ने विश्वास दिलाइन् । संस्थाकी उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा हेटौंडा–५ की वडा सदस्य रञ्जिता सिलवाल, केन्द्रकी पूर्वअध्यक्ष शर्मिला श्रेष्ठ, निवर्तमान अध्यक्ष लक्ष्मी मोक्तान, संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपाने, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*