हुप्रचौरस्थित डाटा सेन्टरमा आगलागी
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४, स्थित डिजास्टर रिकभरी केन्द्र(डाटा सेन्टर)मा ब्याट्री सर्ट हुँदा आगलागी भएको छ ।सिंहदरबारको प्रशासनिक डाटा ब्याकअपको रुपमा प्रयोग गरिँदै आएको डाटा सेन्टरमा आइतबार दिउसो साढे २ बजे आगलागी भएको हो । उपमहानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागी भएको करिब २ घण्टामा आगो नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । ब्याट्री रुममा राखिएको इन्टर्भर ब्याट्री सर्ट भएर पड्किएपछि आगलागी भएको केन्द्रका इन्जिनियर अविनाश झाले जानकारी दिए । आगलागीका कारण प्रति २ भोल्टको रुपमा सञ्चालित ४ सय ८० वटा ब्याट्रीमध्ये आधा जलेर नष्ट भएको जनाइएको छ ।
केन्द्रले आगलागीपछि डाटा रहने सिस्टम बन्द गरेको छ । केन्द्रमा सुरक्षित गरिएको डाटामा भने कुनै क्षति नपुगेको अनुमान गरिएको छ । आगलागी भएपछि डाटाका मेसिनहरु बन्द गरेकाले थप क्षति हुन नपाएको केन्द्रको अनुमान छ । इन्जिनियर झाले छिट्टै सिस्टम सञ्चालनमा ल्याउन सकिने बताए । केन्द्रमा सिंहदरबारभित्रका प्रशासनिक निकायमा हुने सबै सिस्टमका डाटाहरुको ब्याकअपका राखिने
गरिएको थियो । केन्द्रको सिस्टम सञ्चालन नभएसम्म सिंहदरबारभित्र पनि प्रशासनिक कार्यमा समस्या आउन सक्ने जनाइएको छ ।
डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, ईप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, ईकस्टमलगायत ईसेवा सञ्चालन हुन्छ । कोरियाली सरकारको सहयोगमा ३७ करोडको लगानीमा हुप्रचौरस्थित तत्कालीन नगर विकास समितिको १० कठ्ठा जग्गामा निर्माण भएको डाटा सेन्टर ३१ जेठ २०७७ बाट सञ्चालनमा ल्याइएको थियो ।सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरुको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने गरी यसको स्थापना गरिएको थियो । सिंहदरबारको डाटा सेन्टरको डाटा कुनै प्रकोपको कारण नष्ट भएमा त्यसको ब्यकअपको रुपमा सुरक्षित गर्न यो डाटा सन्टेर निर्माण गरिएको हो ।







