मउवा संघको शुभकामना आदानप्रदान
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा चाडपर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रम गरिएको छ ।संघले मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै व्यवसायीहरुसँगको सम्बन्ध थप मजबुद बनाउन खोजेको बताएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरकी नगर प्रमुख मिनाकुमारी लामा, भीमफेदी गाउँपालिका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख मोहलाल जिसी, प्रहरी उपरीक्षक बामदेव गौतम, गोरख बहादुर गणका सेनानी अजित राणा, सशस्त्र प्रहरी निरीक्षक लालबहादुर बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टिका शर्मालगायतको आतिथ्यता थियो ।
संघका अध्यक्ष गुप्ताले शुभकामना मन्तव्य राखेका थिए । उनले मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो परम्पराको रुपमा दशैंपछि र तिहार अघिको समयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विगतदेखि नै गर्दै आएको बताए । यस कार्यक्रमले व्यवसायीहरु माझ आपसी सम्बन्ध मजबुत बनाउने विश्वास लिएको उनले बताए ।सबैंको साझा पहलबाट मात्र हाम्रो गाउँ, सहर, जिल्ला र देश समुन्नत हुन सक्ने भन्दै विशेष गरी राजनैतिक नेतृत्व बढी जिम्मेवार, नैतिक, दुरद्रष्टा, विकासप्रेमी, सहृदयी र सक्षम हुन आवश्यक हुने ठानेको उनले बताए ।
आसन्न आमनिर्वाचनमा मकवानपुर जिल्लाबाट उम्मेदवार बनेका सम्पूर्णमा सफलताको कामना गुप्ताले गरेका छन् । अध्यक्ष कुष्ण कुमार गुप्ताले आउँदै गरेको तिहार, नेपाल सम्बत, छठ, ईद, क्रिसमस, ल्होसार पर्व–२०७९ को उपलक्ष्यमा उपस्थित सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । सोपश्चात चियापान गरी कार्यक्रम समापन भएको थियो । कार्यक्रममा संघका महासचिव दिपक उप्रेतीले कार्यक्रम संचालन गरेका थिए ।







