बिगतका रेकर्ड ब्रेक गरेको यो वर्षको कक्षा १२ को नतिजा
मिति २०८३ साल बैशाख १४ गतेबाट शुरु भै बैशाख २७ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले यहि असार ५ गते प्रकाशन गरेको छ । गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढेको यो नतिजामा प्रदेशगत बिस्तृत विवरण बाहिर ल्याईएको छैन । त्यस्तै सामुदायिक र संस्थागत स्कूलहरुको भिन्न विवरण पनि देखाईएको छैन । विषयगत विवरण आउन बाँकी देखिए पनि सबैभन्दा बढि अंग्रेजीमा नन ग्रेडेड भएको भनिएको छ । तयारी अझै पनि फितलो र हतार अलि बढि नै गरिएको नतिजा प्रकाशनलाई बोर्डले सकेसम्म त्रुटीरहित बनाउने प्रयत्न गरेको स्पष्ट बुझ्न सकिन्छ । उक्त नतिजामा साधारण र प्राविधिक धारतर्फका अलग अलग नतिजा दिन सकेको भए थप स्पष्ट हुने थियो । अझ सरोकारवालाहरु सामुदायिक र संस्थागतको समेत भिन्न विवरणको अपेक्षा राख्दछन् ।
परीक्षा सकिएको ४० दिनमै नतिजा दिने काम परीक्षा बोर्डको प्रशंशनीय पक्ष भन्नै पर्दछ । परीक्षा समाप्तीको यति छोटो अवधिमै नतिजा प्रकाशित भएको यो ऐतिहासिक रेकर्ड नै भन्नुपर्दछ । यो पनि संयोग नै भन्नुपर्ला, एसईई अर्थात कक्षा १० र एसएलसीई अर्थात कक्षा १२ को नियमित तर्फका परिक्षार्थीहरुको नतिजामा क्रमशः ६१.८१ र ६९.७५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । यद्यपि परिक्षार्थीहरु अनुत्तिर्ण नै नहुने स्थिति उत्तम नतिजा हो तर फेल नै नहुने परीक्षाको कल्पना गर्न कठिन र जटिल महसुस गरिएको छ । एकाध परीक्षार्थीहरु पछाडि पर्नु अन्यथा हैन भन्दा बिमती नहोला । हाम्रो सन्दर्भमा भने ६० प्रतिशत भन्दा बढि विद्यार्थीहरु ग्रेडेड हुँदा हर्षको बाढि नै आएको छ । यो संख्यात्मक पक्ष हो । खासगरि शिक्षामा संख्यात्मक संगै गुणात्मक पक्ष शक्तिशाली मान्ने गरिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुशार यस वर्ष परीक्षामा नियमित तर्फ ३,३२,२४१ जना र आंशिक तर्फ ८५,९२९ जना समेत गरि जम्मा ४,१८,१७० जना विद्यार्थीहरुले जापानको १ समेत देशभरका कुल १,४२१ परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएका थिए । गत वर्ष नियमित तर्फ ३,९६,३४७ जना परीक्षामा सहभागी भएको बोर्डको नतिजामा उल्लेख गरिएको थियो । गत वर्ष भन्दा यस वर्ष ६४,१०६ जना विद्यार्थी घटेको तथ्याड्ढले देखाएको छ । त्यस्तै, गतवर्ष आंशिक तर्फ १,१४,६४० जना सहभागी भएकोमा यसवर्ष यो संख्या ८५,९२९ जना मात्र भएको जनाईएको छ । आंशिक परिक्षार्थीको संख्या घट्नुलाई सकारात्मक मान्नुपर्दछ । यस वर्ष नियमित तर्फ २,३१,७७० जना अर्थात ६९.७५ प्रतिशत विद्यार्थीहरु
ग्रेडेड भै विश्वविद्यालय स्तरको अध्ययनका लागि योग्य भएका छन् । नियमित तर्फका १,००,४४१ जना विद्यार्थीहरु नन ग्रेडेड देखिन्छन् । यहि नन ग्रेडेड संख्या भित्र मौका परीक्षा दिन पाउने संख्या पनि समावेश भएको छ । सैद्धान्तिक विषयहरुमा बढिमा २ विषय सम्म नन ग्रेडेड हुनेहरु मौका परीक्षामा सहभागी बन्न सक्नेछन् ।
त्यस्तै आंशिक तर्फ भने मात्र ३६,४२० जना अर्थात ४२.३८ प्रतिशत विद्यार्थीहरु स्नातक तहमा भर्नाका लागि योग्य भएका छन् । आंशिक वा ग्रेडवृद्धि तर्फका विद्यार्थीहरुको नतिजाले थप चिन्ता प्रवाह गरेको छ । यो झनै बढि हुनु पर्नेमा धेरै तल झरेको देखिन्छ । नियमित तर्फ ३० जना र आंशिक तर्फका १० जना गरि जम्मा ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।यस वर्ष कक्षा १२ को नियमित तर्फको नतिजामा ३.६१देखि ४.० जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १७,७८६ अर्थात ५.३५ प्रतिशत रहेको छ । वि.सं.२०८२ मा यो संख्या मात्र १३,५०२ अर्थात ३.४ प्रतिशत मात्र थियो । यो वर्ष यस समूहमा १.९५ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
त्यस्तै ३.२१ देखि ३.६० सम्म जिपिए ल्याउने विद्यार्थीहरु ६४,८२१ जना अर्थात १९.५१ प्रतिशत देखिन्छ । गत वर्षको नतिजामा यो समूहमा ५५,८९६ जना अर्थात १४.१ प्रतिशत मात्र थिए । यो पनि गतको भन्दा ५.४१ प्रतिशतले बृद्धि भएको छ । यस वर्षको नियमित नतिजामा २.८१ देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीहरु सबै भन्दा बढि ९४,२४९ जना अर्थात २८.३७ प्रतिशत रहेका छन् । गत वर्ष यहि समूहमा ९४,२६८ जना अर्थात २३.७८ प्रतिशत रहेका थिए । यो संख्यामा पनि ४.५९ प््रतिशतले बृद्धि भएको देखिन्छ ।
त्यसैगरि २.४१ देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीहरु ५०,५९७ जना अर्थात १५.२२ प्रतिशत रहेका छन् । गत वर्ष यो संख्या ६९,८१२ जना अर्थात १७.६१ प्रतिशत उल्लेख गरिएको थियो । यस वर्ष यो समूहमा २.३९ प्रतिशत नतिजा कम भएको देखिन्छ । त्यस्तै २.०१ देखि २.४० सम्म जिपिए ल्याउने विद्यार्थीहरु ४,३०८ जना अर्थात १.३ प्रतिशत रहेका छन् । यसै समूहमा गत वर्ष ८,९६४ जना अर्थात २.२६ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । यस्मा पनि गत वर्षको भन्दा ०.९६ प्रतिशतले नतिजामा कमी भएको सहजै देख्न सकिन्छ । पुछारको ग्रेड १.६१ देखि २.० सम्म जिपिए ल्याउने विद्यार्थीहरु मात्र ९ जना रहेका छन् ।
कक्षा १२ का नियमित तर्फ परीक्षामा सहभागी ३,३२,२४१ र आंशिक तर्फका ८५,९२९ गरि कूल ४,१८,१७० जना परिक्षार्थी मध्ये नियमित तर्फ २,३१,७७० जना (६९.७५%) र आंशिक तर्फ ३६,४२० जना (४२.३८%) गरि जम्मा २,६८,१९० जना अर्थात कूल परिक्षार्थीको ६४.१३ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भै विश्वविद्यालय स्तरको शिक्षा हासिलका लागि योग्य भएका छन् । नियमित तर्फका १,००,४७१ जना (३०.२४%) र आंशिक तर्फका ४९,४९९ जना (५७.६%) गरि जम्मा १,४९,९७० जना (३५.८६%) नन ग्रेडेड विद्यार्थीको संख्या देखिन्छ ।
वि.सं. २०८२ मा यो संख्या जम्मा परीक्षार्थी ५,१०,९८७ जनाको ४४.३२ प्रतिशत थियो र समग्रमा कक्षा १२ को नतिजामा ५५.६८ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । नन ग्रेडेड मध्ये मौका परीक्षाबाट ग्रेडेड भै यसै वर्ष स्नातक तहमा भर्ना हुने संख्या पनि अनुमान गर्नका लागि बिगतका मौका परीक्षाको आधार लिन सकिन्छ । यो नतिजामा ग्रेडेड भएका विद्यार्थीहरु करिब ३ लाख मध्ये हाम्रा कलेजमा प्रवेश गर्नेहरुको संख्या विवरण लिनका लागि भर्ना समय पश्चात कलेजहरु संग तथ्याड्ढ लिन सकिन्छ । करिब १ लाख विद्यार्थीहरु बैदेशिक अध्ययनका लागि वर्षेनी बाहिरिने गरेको भनिएको छ । यस्तो संख्यात्मक विवरण यकिन गर्ने र त्यस्का कारणहरु संकलन गरि समाधान तर्फ समयमै पहल नगर्ने हो भने यो युवा शक्ति पलायन मुलुकका लागि गम्भिर क्षति पुग्न सक्छ ।
एनओसी लिने सबै विद्यार्थीहरु अध्ययनका लागि मात्र नभै रोजगार संग समेत जोडिएको बुझिन्छ । बिदेशिएका विद्यार्थीहरुमध्ये करिब ३० प्रतिशत मुस्किलले फर्केको र स्वदेशमा रहेर सहज जीवन यापनमा कठिनाई महसुस गरि त्यस मध्ये पनि आधाजसो उतै फmर्किएको विश्लेषण गरिएको छ ।अन्तमा, यस वर्ष एसईई र एसएलसीई दुबैको नतिजा बिगत भन्दा राम्रो हुनुलाई सकारात्मक भन्नै पर्दछ । परीक्षा समाप्तीको कम अवधिमा उच्च प्रतिशत नतिजाले बिगतका रेकर्ड ब्रेक गरि नयाँ इतिहास बनाएको तथ्य नै महत्वपूर्ण पक्ष भन्नै पर्दछ । यो संख्यात्मक भन्दा पनि अझ गुणात्मक तहमा बृद्धि हुनु पर्दछ । तोकिएका तह वा कक्षाको निर्धारित सिकाई उपलब्धि संग नतिजाको स्तर जोडिएको हुन्छ । कक्षा प्रमोशन मात्र गुणस्तरीय शिक्षाको मापन हुन सक्दैन । संख्या बृद्धी संगै नतिजाको स्तर बढ्दै जानुपर्छ ।
आगामी वर्षहरुमा थप स्तरीय र धेरै विद्यार्थी ग्रेडेड हामी सबैको अपेक्षा हो । यस मुलुकको समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको आधार निश्चय नै स्तरयुक्त विद्यार्थीहरु जो विद्यालय शिक्षाबाट ग्रेडेड भै विश्वविद्यालय स्तरका खोज अनुसन्धानका क्षेत्रमा समेत अब्बल साबित हुनु हो । नन ग्रेडेड भएका विद्यार्थीहरुले पनि आफ्नो मनोबल उच्च बनाएर असफलताले सफलताको मार्ग झनै स्पष्ट बनाउने कुरो आत्मसाथ गर्नुपर्दछ । दुनियाँका सफल र महान ब्यक्तिहरुले अनेकौं पटक असफलताको सामना गरेर नै उच्च शिखरमा पुग्न समर्थ भएका हुन् ।
सरकारले पनि सम्वद्ध शिक्षकहरुका समस्याहरु हल गरि अध्ययन अध्यापनका लागि प्रोत्साहित गरेर मात्र स्तरीय नतिजा हासिल गर्न सकिने तथ्यलाई गम्भिरतासाथ ग्रहण गर्नै पर्दछ । सम्बन्धित सरकारी निकायका अतिरिक्त शिक्षक, विद्यार्थी र अभिभावक समेत आम सरोकारवालाबाट आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने स्तरयुक्त नतिजा हासिलका लागि वर्षौंको प्रतिक्षा जरुरी पर्ने छैन् ।






