लागुऔषध विरुद्ध सप्ताहव्यापी अभियान सुरु

साझाकुरा
२०८३ असार ८, सोमबार १०:२३

हेटौंडा-३९ औँ अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवसको अवसरमा मकवानपुरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सिआन पुनस्र्थापना केन्द्र, हेटौंडा–९ बाट कार्यक्रमको शुभारम्भ गरिएको हो । जिल्लास्तरीय लागुऔषध नियन्त्रण तथा रोकथाम समिति जिल्ला प्रशासन कार्यालय मकवानपुर, सिआन पुनस्र्थापना केन्द्र, भिभ हेल्थ केयर र रिकभरिङ नेपालको समन्वयमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । ‘लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो रोजौं’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत ‘लागुऔषधको वर्तमान अवस्था, चुनौती र सम्बन्धित निकायको भूमिका’ विषयमा संवाद कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुखअतिथि रहेका थिए भने सिआन पुनस्र्थापना केन्द्रका अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता थियो । प्रमुखअतिथि घलानले लागुऔषधको समस्या व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको साझा समस्या बन्दै गएको बताउँदै यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे । उनले प्रयोगकर्तालाई अपराधीकारुपमा होइन, समस्यामा परेका व्यक्तिका रुपमा हेर्नुपर्ने बताए ।

संवाद कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीउपरीक्षक श्यामबहादुर खत्रीले मकवानपुरमा दर्ता हुने मुद्दामध्ये करिब ९० प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको उल्लेख गर्दै यसको बढ्दो प्रयोगले जिल्लालाई भयावह अवस्थातर्फ धकेल्न सक्ने चेतावनी दिए । उनले लागुऔषधविरुद्ध प्रभावकारी जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए । संवाद कार्यक्रममा हेटौंडा उपमहानगरप्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत सरोज पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका शाखाप्रमुख शिवराम बोहोरा, सशस्त्र प्रहरी बल नम्बर १४ गणका प्रहरीनिरीक्षक ईश्वर कार्की, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक रमेश बिष्ट, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वासुदेव रिमाल, फ्रेन्ड्स हेटौंडाका अध्यक्ष उपमा लामा, रिकभरिङ नेपाल बागमती प्रदेशका उपाध्यक्ष रोशन सिलवाल, मकवानपुर रिकभरिङ समूहका कार्यक्रमसंयोजक उद्धव केसी, सहारा हाउस पुनस्र्थापना केन्द्रका महासचिव निरज खड्का तथा माया नेपाल पुनस्र्थापना केन्द्रका सञ्चालक दिपु लामालगायतको सहभागिता थियो ।संवादमा सहभागीले लागुऔषधको वर्तमान अवस्था, बढ्दो चुनौती, रोकथाम तथा नियन्त्रणका उपाय र सरोकारवाला निकायको भूमिकाबारे आआफ्नो धारणा राखेका थिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*