अर्थमन्त्रीलाई नगरप्रमुखको प्रश्न : ‘बैंक टल्कने, घर–पसल भत्किने, नागरिक कसरी खुशी हुने ?’

अर्थमन्त्रीको जवाफ : विचाराधीन मुद्दामा टिप्पणी गर्न मिल्दैन
साझाकुरा
२०८३ असार ८, सोमबार १०:०३

हेटौंड-हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले हेटौंडा बजारक्षेत्रको सडक विस्तारको विषयलाई छिटो टुंगोमा पु¥याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आग्रह गरेकी छिन् ।नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले सडक विस्तारका कारण प्रभावित घरधनी तथा व्यवसायीलाई उचित क्षतिपूर्ति र व्यवस्थापनसहित समाधान दिनुपर्ने बताइन् । उनले हेटौंडावासी, व्यवसायी तथा स्थानीय सरकार सबैले विकाससँगै स्पष्ट निकास चाहेको उल्लेख गर्दै लामो समयसम्म अनिर्णयको अवस्थाले नागरिकलाई पीडित बनाउन नहुने धारणा राखिन् । नगरप्रमुख लामाले विगत पाँच दशकदेखि हेटौंडावासी २५ मिटर र ३१ मिटर सडक सीमाको अन्योल र त्रासमा बाँच्न बाध्य भएको बताइन् ।

सडक विस्तारका क्रममा पर्याप्त तयारी र स्पष्टताबिना बजारक्षेत्रमा डोजर चलाइएको स्मरण गर्दै उनले भत्किएका तथा आधा भत्किएका संरचनामा व्यवसाय सञ्चालन गर्ने कि नगर्ने ? भन्ने अन्योलमा व्यवसायी रहेको उल्लेख गरिन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले स्थानीय सरकारको प्रमुख भएर पनि बजारक्षेत्रको व्यवस्थापनमा प्रभावकारी हस्तक्षेप गर्न नसकेको उनको गुनासो थियो । स्थानीय सरकार नागरिकको घरआँगनको सरकार भएपनि नागरिक सामु जवाफदेही बन्न कठिन अवस्था सिर्जना भएको उनले बताइन् ।

हेटौंडालाई बागमती प्रदेशको राजधानी मात्र नभई संघीय राजधानी काठमाडौंसरह आकर्षणको केन्द्रकारुपमा विकास गर्ने लक्ष्यरहेको उल्लेख गर्दै नगरप्रमुख लामाले नागरिकको अनुहारमा खुशी र आत्मविश्वास नआएसम्म विकासले पूर्णता नपाउने धारणा व्यक्त गरिन् । बैंकका भवनहरु आधुनिक र आकर्षक बने पनि वरपरका घर तथा पसल भत्किएर नागरिक पीडामा रहेका बेला समग्र सहरको सौन्दर्य र समृद्धि अधुरो रहने उनको भनाइ थियो । जवाफमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा सडक विस्तारको विषयमा सरकार पूर्णरुपमा जानकार रहेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यस विषयमा विस्तृत टिप्पणी गर्न नमिल्ने उल्लेख गर्दै उनले सडक विस्तारसम्बन्धी समस्या समाधान गरी निकास दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सडक डिभिजन कार्यालय हेटौंडाले २०८२ मंसिर २० गते एकै दिन करिब ७ किलोमिटर सडक क्षेत्रभित्र पर्ने पाँच सयभन्दा बढी घरटहरा भत्काएको थियो । त्यसयता ‘सुन्दर नगरी’को उपमाले परिचित हेटौंडा बजारक्षेत्र अस्तव्यस्त बनेको छ । सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचनाका भग्नावशेष अझै व्यवस्थितरुपमा हटाउन नसक्दा दैनिक जनजीवन प्रभावित हुँदै आएको छ । सडक र पेटीमा छरिएका ढुंगा, इँटा तथा फलामका टुक्राले पैदलयात्री र सवारीचालक दुवैलाई जोखिम बढाएको छ भने प्रभावित व्यवसायी पनि अनिश्चितता र आर्थिक समस्यासँग जुधिरहेका छन् ।

४ करोड ७२ लाख लागतमा नेपाल बैंकको नया“ भवन सञ्चालनमा

नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा निर्माण गरिएको भवनको आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका हुन् । करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको साढे तीन तले भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था रहेको छ । भवन एसएनपी–छुमा गणेश जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो । २०८० मंसिर ८ गते निर्माण सम्झौता भएको परियोजना एकवर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि एकपटक म्याद थप गरी निर्माण कार्य सम्पन्न गरिएको थियो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपाल बैंकले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै आधुनिक बैंकिङ सेवातर्फ सफलतापूर्वक यात्रा गरिरहेको बताए ।

उनले नेपाल बैंकसँग हेटौंडाको पनि लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता गौरवशाली संस्थालाई संरक्षण र सम्मान गर्नुपर्ने धारणा राखेका छन् । मुलुक आधुनिकीकरणको दिशामा अघि बढिरहेका बेला बैंकिङ क्षेत्रले पनि प्रविधिमैत्री र सेवामुखी रुपान्तरणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले नयाँ भवनबाट सेवाग्राहीले अझ आधुनिक, छरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । हेटौंडा बागमती प्रदेशको राजधानी समेत भएकोले यो क्षेत्रको आर्थिक गतिविधिमा बैंकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘वि.सं. १९९४ मा बैंकिङ ऐन आउँदा त्यसको प्रस्तावनामा नै नेपाली जनताको बढिंया (भलो) गर्न भनेर लेखिएको थियो’ मन्त्री वाग्लेले भने,‘राणाकालीन इतिहास र त्यो बेलाको भाषामा लेखिएको त्यो उद्देश्यलाई आत्मसात् गर्दै नेपालको पहिलो बैंकले आज आधुनिकीकरणको बाटोमा फड्को मारिरहेको देख्दा खुसी लागेको छ ।’ कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले वर्तमान सरकारसँग सहकार्य गर्दैराष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा बैंकले सक्रिय भूमिका खेलिरहेको बताएका छन् ।

सरकारले सार्वजनिक गरेको बजेट र नीतिलाई सहयोग पुग्ने गरी बैंकले आफ्ना कार्यक्रम तथा लगानी रणनीति तय गरेको उनको भनाइ थियो । सीईओ पाण्डेयले विगतको तुलनामा बैंकका सेवा र सुविधामा उल्लेखनीय सुधार आएको दाबी गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिइएको जानकारी दिए । प्रविधिको प्रयोग बढेसँगै कर्मचारी व्यवस्थापनमा समेत दक्षता आएको उल्लेख गर्दै उनले अहिले विगतको तुलनामा आधाभन्दा कम जनशक्तिबाट पनि प्रभावकारी सेवा प्रवाह गर्न सम्भव भएको बताए ।

‘हामीसँग अहिले जनताको ४०० अर्ब रुपैयाँ निक्षेप (डिपोजिट) छ भने करिब २६० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौं,’ उनले भने, ‘यसका साथै बैंकले नेपाल सरकारको डेभलपमेन्ट बन्ड र ट्रेजरी बिलहरुमा मात्रै १४० अर्ब रुपैयाँ लगानी गरेको र हाल २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका छौं ।’ उनले ठूला उद्योगी व्यवसायीदेखि साना किसानसम्मलाई वित्तीय पहुँचमा जोड्ने प्रयास भइरहेको उल्लेख गर्दै सार्वजनिक खरिद ऐनका केही जटिल व्यवस्थाका कारण लगानी तथा विकासका काममा अपेक्षित गति आउन नसकेको गुनासो गरे । हाल पुरानै सिस्टममा विभिन्न एपिआइहरु कनेक्ट गरेर आधुनिक सेवा दिइरहेको र छिट्टै थप नयाँ प्रविधि भित्र्याउन प्रयास भइरहेको पनि उनले जानकारी
दिए । नेपाल बैंक लिमिटेडका अनुसार हाल बैंकको सेवा सञ्जाल देशका ७१ जिल्लामा विस्तार भएको छ ।

सातै प्रदेशमा गरी बैंकका २३१ शाखा सञ्चालनमा रहेका छन् । बैंकमा करिब ४ सय अर्ब रुपैयाँ निक्षेप रहेको तथा २ सय ६० अर्ब रुपैयाँ कर्जा लगानी भएको जानकारी दिइएको छ । साथै बैंकले देशभर २७ लाखभन्दा बढी ग्राहकलाई सेवाप्रदान गर्दै आएको छ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत विभिन्न सरकारी, निजी तथा वित्तीय क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*